बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् । मुख्यमन्त्री चौधरीले प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका हुन् ।
११ महिनाअघि वैशाख १४ गते मुख्यमन्त्री बनेका चौधरीले अल्पमतमा परेपछि बिहीबार प्रदेश सभाको चौथो अधिवेशनमा राजीनामा दिएका हुन् ।
नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका चौधरी ८ दलका ५३ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनले संघमा भएको गठबन्धन फेरबदलसँगै राजीनामा दिएको बताए ।
उनले आफू प्रजातन्त्रवादी रहेकाले सरकारमा आउनु र जानू स्वभाविक भएको बताउँदै प्रतिपक्षमा रहेर रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उनले आज विश्वासको मत लिने तयारी गरेका थिए । तर, नागरिक उन्मुक्ति पार्टी विभाजित भएपछि विश्वासको मत नलिई राजीनामा घोषणा गरेका हुन् ।
लुम्बिनीमा नेकपा (माओवादी केन्द्र)का जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन चार दलबीच सहमति भएको छ । माओवादी, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र एक स्वतन्त्र सांसदबीच सहमति भएको हो ।
प्रतिक्रिया