सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले दिए राजीनामा

सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले दिए राजीनामा



काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । सरकार अल्पमतमा परेपछि उनले प्रदेश प्रमुख नजिर मियाँलाई राजिनामा बुझाएका हुन् । बदलिएको राजनैतिक परिस्थितिले राजीनामा दिएको उनले बताए ।

सरकार जाेगाउन अन्तिम समयसम्म प्रयास गरे पनि विश्वासकाे मत जुट्न नसक्दा उनी राजीनामा दिन बाध्य भएका हुन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको थियो । तर मुख्यमन्त्रीकै आग्रहमा साँझ ५ बजेसम्मका बैठक सारिएको थियो ।

कांग्रेसका १८ सहित नागरिक उनमुक्ति पार्टी (नाउपा)का ७, राप्रपा र स्वतन्त्र सांसदले मत दिए मात्र शाहलाई बहुमत पुग्ने अवस्था थियाे । तर नाउपाको विवादले सांसद नै नआउने भएपछि शाहले विश्वासको मत पाउने सम्भावना नदेखेर राजीनामा दिएका हुन् ।

स्वतन्त्र सांसद डा. तारा जोशीले पनि विश्वासको मत नदिने निर्णय सार्वजनिक गरेका थिए ।

त्यसैगरी आजै लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्ली चाैधरीले पनि अल्पमतमा परेपछि राजीनामा दिएका थिए ।