आयरल्यान्ड वुल्ससँग नेपाल ‘ए’ ११४ रनको फराकिलो अन्तरले पराजित

आयरल्यान्ड वुल्ससँग नेपाल ‘ए’ ११४ रनको फराकिलो अन्तरले पराजित



काठमाडौं । आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार नेपालको ‘ए’ टोली पराजित भएको छ । आयरल्यान्डले नेपाललाई एक सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

एकदिवसीय शृंखलामा नेपालको यो लगातार दोस्रो हार हो । आयरल्यान्डले भने तीन खेलको शृंखलामा २–० को अग्रता लिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले ३८.४ ओभरमा अलआउट हुनुअघि एक सय ७४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.५ ओभरमै अलआउट हुनुअघि ६० रनमात्र बनाउन सक्यो ।

नेपालका भीम सार्कीले २१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक १७ रन बनाए । विनोद भण्डारी १९बलमा २ चौकासहित १६ रनमा आउट भए । नेपालका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । देव खनाल शून्य, अर्जुन साउद ५, नरेन भट्ट र बसिर अहमद ६/६ रनमा आउट भए ।

आयरल्यान्डका स्पिनर म्याथ्यु हम्फ्रेजले ४.५ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ६ विकेट लिए । थोमस मेयर्स र फिन ह्यान्डले २/२ विकेट लिए ।

त्यसअघी आयरल्यान्डका गेभिन होईले सर्वाधिक ५०, कप्तान निल रक ४५ लियाम म्याकार्थी ३५ र पिटर मुर १७ रन बनाएका थिए ।

नेपालका स्पिनर साहब आलम र रिजन ढकालले ३/३ विकेट लिए । त्यसैगरी मौसम ढकालले २ र कमलसिंह ऐरीले १ विकेट लिए ।

नेपाल ए पहिलो खेलमा २१ रनले पराजित भएको थियो । अब नेपाल ए र आयरल्यान्ड ए बीचको अन्तिम खेल आइतबार हुनेछ ।