उपनिर्वाचन जित्छौँ, पार्टी पङ्क्ति एकताबद्ध भएर लागौँ : डा. महत

उपनिर्वाचन जित्छौँ, पार्टी पङ्क्ति एकताबद्ध भएर लागौँ : डा. महत


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले इलाममा हुने उपनिर्वाचनमा काँग्रेसले जित्ने बताएका छन् । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नम्बर २ काे क्षेत्रीय सम्मेलनलाई सम्बाेधन गर्दै उनले सिङ्गो पार्टी पङ्क्ति एकीकृत भएर लाग्ने हो भने विगतमा ११४ मतले हारेको सो निर्वाचन क्षेत्रकाे उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका हुन् ।

प्रवक्ता डा. महतले पार्टीको जिल्ला सभापति समेत रहनुभएका डम्बर खड्कालाई जित्ने भएकाले नै पार्टीले उम्मेदवार बनाएकाे बताए । उनले बझाङको प्रदेश १ को उपनिर्वाचनमा पनि काँग्रेसले जित हासिल गर्ने भएकाले एकताबद्ध भएर प्रचार अभियानमा जुट्नुपर्ने बताए ।

प्रवक्ता महतले भने, ‘अहिले हामी दुई वटा उपनिर्वाचनमा जाँदैछौँ । इलाम जिल्लामा संघीय संसद्को निर्वाचनमा त्यहाँ खाली भएको ठाउँमा उपनिर्वाचनमा जाँदैछौँ । त्यहाँ यो भन्दा अगाडिको आम निर्वाचनमा पनि अत्यन्तै झिनो मत ११४ मतले मात्रै हारेको हो । डम्बर खड्का, जिल्लाको पार्टी सभापति र तुलनात्मक रूपमा युवा उम्मेदवार हामीले दिएका छौँ । हाम्रो पार्टी एकीकृत भएर त्यहाँ भिड्ने हो भने हामी निर्वाचन जित्छौँ । त्यस्तै बझाङमा पनि त्यो सम्भव छ ।’

प्रवक्ता महतले पार्टीले जनताको पक्षमा गरेका कामको प्रचारमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे । तिल जति काम नगरेकाले पहाड जत्रो प्रचार गरेर हिँड्ने गरेको भन्दै उनले पार्टी कामको प्रचारमा गर्नुपर्ने विषयमा नेपाली काँग्रेस गम्भीर भएर लाग्नुपर्ने बताए । उनले भने ‘कामै नगरेकाहरूले बढाईचढाइ गरिहिँडेको बेला कांग्रेसले पनि गम्भीर भएर प्रचारमा लाग्नुपर्छ ।’