कोशी प्रदेशमा माओवादीका मन्त्रीले बुझाए राजीनामा

कोशी प्रदेशमा माओवादीका मन्त्रीले बुझाए राजीनामा



विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा बुझाएका छन् । सोमबार दिउँसो उनीहरुले मुख्यमन्त्री केदार कार्की समक्ष राजीनामा बुझाएका हुन् ।

कोशी सरकारमा माओवादीबाट गणेश उप्रेती वनमन्त्री, राजेन्द्र कार्की सामाजिक विकासमन्त्री र नारायण बुर्जामगर खानेपानी मन्त्री थिए ।

सोमबार प्रदेशसभा संसद सचिवालयमा बसेको माओवादी प्रदेश संसदीय दलको बैठकले नेपाली कांग्रेसका केदार कार्की नेतृत्वकाे सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिने निर्णय गरेको थियाे ।

अब एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्तिका लागि बहुमत सांसदले लिखित निवेदन प्रदेश प्रमुखलाई बुझाउने तयारी गरिएकाे छ ।