सुदूरपश्चिममा नाउपा सांसद गिरी पदमुक्त

सुदूरपश्चिममा नाउपा सांसद गिरी पदमुक्त



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन् । सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा प्रदेश सभा सचिवालयले गिरी पदमुक्त गर्ने सूचना निकालेको हो ।

नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गरेपछि सभामुखले गिरीलाई पदमुक्त गरेको सूचना निकालेका हुन् ।

समानुपातिक सांसद गिरी कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नेतृत्वको सरकारमा कृषि राज्यमन्त्री भएकी थिइन् । संरक्षक रेशम चौधरी पक्षको जोडबलमा गिरीसहित नाउपाका ५ प्रदेश सांसद शाह सरकारमा मन्त्री भएका थिए ।

तर एमाले–माओवादी गठबन्धनको पक्षमा रहेकी अध्यक्ष रञ्जिताले सरकारबाट फिर्ता हुन निर्देशन दिएकी थिइन् । निर्देशन पालना नगरेको भन्दै श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाउने पत्र पठाएकी हुन् ।