कोशीमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेस

कोशीमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेस



विराटनगर । कोशी प्रदेशमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन बहुमत सांसदले हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गरेका छन् । एमाले र माओवादीले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएलगत्तै नयाँ सरकार गठनको पहल सुरू गरेका हुन् ।

मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेको भन्दै सोमबार प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष निवेदन दिइएको हो ।

‘नेपालको संविधान बमोजिम माननीय मुख्यमन्त्री केदार कार्कीले बहुमत सदस्यको विश्वास गुमाई सकेकोले कोशी प्रदेश सभाका हामी बहुमत सदस्यहरू नेपाल कम्युनिस्ट पार्टी एमाले प्रदेश सभा संसदीय दलका नेता माननीय हिक्मत कुमार कार्कीलाई अर्को वैकल्पिक सरकारको नेतृत्व गर्न कोशी प्रदेश सरकार मुख्यमन्त्री पदमा नियुक्तीका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन माननीय प्रदेश प्रमुखज्यू समक्ष दाबी प्रस्तुतिका साथ अनुरोध गर्दछौ’, प्रदेश प्रमुखलाई बुझाएको निवेदनमा उल्लेख छ ।

गत आश्विन २७ गते एमालेका ३९ जना सदस्य र नेपाली कांग्रेसका ८ जना सदस्य समेत कुल ४७ जना सदस्यको समर्थनका आधारमा कार्की संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।