कोशीमा वैशाख ६ गते विशेष अधिवेशन आह्वान

कोशीमा वैशाख ६ गते विशेष अधिवेशन आह्वान



विराटनगर । कोशी प्रदेशसभाको विशेष अधिवेशन आगामी वैशाख ६ गतेका लागि बोलाइएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाका एक चौथाइ भन्दा बढी प्रदेशसभा सदस्यहरूले दिएको पत्रको आधारमा उक्त अधिवेशन बोलाएका हुन् ।

२६ चैतमा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले मुख्यमन्त्री र सरकारलाई निर्देशन दिनुपर्ने भएकाले अधिवेशन मागसहित निवेदन दिएका थिए ।

सोही दिन मुख्यमन्त्री केदार कार्कीले मन्त्रीपरिषद्को निर्णय अनुसार ११ जेठ २०८१ मा संसदको नियमित अधिवेशन आह्वानका लागि निवेदन दिएका थिए ।

दुई दिन परामर्श गरेका प्रदेश प्रमुख खापुङले ६ बैशाख २०८१ दिउँसो १ बजे प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

‘प्रमुख पर्शुराम खापुङज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम संवत् २०८१ साल वैशाख ६ गते बिहीबार दिनको १ः०० बजे कोशी प्रदेशसभा हल, विराटनगरमा कोशी प्रदेशसभाको अधिवेशन आव्हान गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।