एससीसी प्रियिमर कपमा नेपालको विजयी सुरुआत

एससीसी प्रियिमर कपमा नेपालको विजयी सुरुआत



काठमाडौं । एसीसी प्रिमियर लिगको पहिलो खेलमा नेपालले मलेसियालाई हराएको छ । ओमानमा भएको खेलमा नेपालले मलेसियामाथि पाँच विकेटको जित निकालेको हो ।

ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ । नेपालले शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको हो ।

मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ४ बल खेल्न बाँकी छदा पूरा गर्‍यो ।

नेपालका ओपनरद्वय कुशल भुर्तेलले २४ रन र आसिफ शेखले ३२ रन बनाए । कप्तान रोहितकुमार पौडेलले २८ रन जोड्दा कुशल मल्ल ७ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरीले २० रनको योगदान गरे । गुल्सन झाले नटआउट १९ रन र सन्दीप जोराले नटआउट १२ रन जोड्दा नेपालले जित निकालेको हो ।

बलिङमा मलेसियाका वीरन्ददीप सिंहले ३ विकेट लिए ।

त्यसअघि ओमानको अल अमरेतमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३ विकेटको क्षतिमा १४३ रन जोड्यो ।

मलेसियाका ओपनर विरन्दीप सिंहले ५५ बलमा तीन चौका र चार छक्कासहित ६८ रन बनाए । सर्विन मुनिउन्दीले ४१ रन बनाए । यी दुईले ३५–१ को अवस्थाबाट दोस्रो विकेटका लागि ८२ रनको साझेदारी गर्दै मलेसियाको इनिङ सम्हालेका थिए । यसबाहेक, मुहम्मद अमिरले १६ रन थपे ।

नेपालका दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । चार ओभर बलिङ गरेका दीपेन्द्रले १४ रनमात्र खर्चिए । यस्तै, अभिनाश बोहराले एक विकेट हात पारे ।