दुई मन्त्रालय नपाएपछि लुम्बिनी सरकारबाट बाहिरियो जसपा

दुई मन्त्रालय नपाएपछि लुम्बिनी सरकारबाट बाहिरियो जसपा



काठमाडौं । पूर्वसहमति अनुसार दुई मन्त्रालय नपाएको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाएको छ ।

जसपाबाट सरकारमा गएका भण्डारीलाल अहिरले शनिबार नै राजीनामा बुझाएका हुन् । सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन भने यथावत नै रहेको जसपाले जनाएको छ ।

नेकपा माओवादीका नेताहरुसँग जनता समाजवादीलाई २ जना मन्त्री दिने सहमति गरेकोमा त्यस विपरीत मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद बिस्तार गर्दा अपमानजनक व्यवहार गरेकोले सरकारबाट बाहिरिएको जसपाले बताएकाे छ ।लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद छन् ।

सत्तासाझेदार दलहरुबीच जनता समाजवादी पार्टीलाई सहरी विकास तथा पर्यटन मन्त्रालय र कृषि तथा भूमी व्यवस्था मन्त्रालय दिनेगरी सहमति भएको थियो ।

उक्त सहमतिमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता एवं मुख्यमन्त्री जोखबहादुर महरा, एमाले संसदीय दलका नेता लिला गिरी, जसपा संसदीय दलका नेता भण्डारीलाल अहिर, एकिकृत समाजवादीका संसदीय दलका नेता भगवती अधिकारी र नवलपरासीबाट जितेका स्वतन्त्र सांसद खड्गबहादुर बस्नेतले हस्ताक्षर गरेका थिए ।