नयाँ वर्ष , जुडशीतल र ईद पर्वको अवसरमा मधेशी एकता समाज कतारको वृहत् सांस्कृतिक कार्यक्रम

नयाँ वर्ष , जुडशीतल र ईद पर्वको अवसरमा मधेशी एकता समाज कतारको वृहत् सांस्कृतिक कार्यक्रम



काठमाडौं । मधेशी एकता समाजको कतार शाखाले यस वर्षको नयाँ वर्ष, जुडशीतल तथा ईद पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

बैशाख १४ गते शुक्रबार समाजको कतार शाखाले दोहाको सनैयास्थित फुलवारी रेस्टुरेन्टको सभाहलमा भव्य कार्यक्रम आयोजना गरेको हो ।

कतार शाखाका अध्यक्ष शिव कुमार महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादव प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने समाजका संस्थापक डा. रवीन्द्र कुमार यादव र कतारस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राई विशिष्ट अतिथिको रुपमा सहभागी थिए ।

कार्यक्रममा एनआरएनएका पदाधिकारी तथा कतारस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिका साथै पत्रकार एवं बुद्धिजीविहरुको पनि बाक्लो उपस्थिति थियो ।

प्रमुख अतिथि एवं मधेश प्रदेशका अर्थमन्त्री यादवले नेपालको वर्तमान राजनीति र मधेशको पिछडिएको अवस्था एवं विकासका बारेमा आफ्नो धारणा राखे ।

नेपाली दूतावास कतारका कार्यवाहक राजदूत कुमार राईले रोजगारीको सिलसिलामा कतारमा रहेका लगभग साढे तिन लाख नेपालीमध्ये प्रदेशको हिसाबले मधेश प्रदेशबाट कतारमा सबैभन्दा धेरै नेपाली दाजुभाई रहेको बताए ।

मधेशका दाजुभाई नेपालबाट कतार आउँदा धेरै ठगिएको आफूले पाएको बताउदै कार्यवाहक राजदूत राईले आगामी दिनमा ठगिनबाट जोगिन सबैलाई आग्रह गरे ।

समाजका संस्थापक डा. यादवले मधेशका सबै जातजाति र समुदायलाई एकताबद्ध गर्नु, मधेशका भाषा र संस्कृतिको संरक्षण गर्नु एवं देश र मधेशको विकासमा योगदान दिनु मधेशी एकता समाजको मुख्य उद्देश्य रहेको बताए ।

कार्यक्रममा तराई–मधेसका सांस्कृतिक गीत तथा नृत्यहरु प्रस्तुत गरिएका थिए । यस्तै अतिथिदेखि सहभागीहरुलाई तराई–मधेसको सांस्कृतिक खानाका परिकार पस्किएको थियो ।