हराएका छोरा खोज्न फोन गर्ने प्रहरीमाथि दुर्व्यवहार, हवल्दार महतो निलम्बनमा

हराएका छोरा खोज्न फोन गर्ने प्रहरीमाथि दुर्व्यवहार, हवल्दार महतो निलम्बनमा


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । हराएका छोराको खोजीका लागि प्रहरी कार्यालयमा सम्पर्क गरेका आफ्नै सहकर्मीलाई अपमानजनक व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटको गौरस्थित सञ्चार शाखामा कार्यरत प्रहरी हवल्दार बुधन महतो निलम्बनमा परेका छन्।

डुमरिया सुरक्षा बेसमा कार्यरत प्रहरी हवल्दार सुरेशप्रसाद यादवलाई आफू प्रहरी नायब निरीक्षक (सइ) भएको बताउँदै फोनमा गालीगलौज गरेको अडियो सार्वजनिक भएपछि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले महतोमाथि कारबाही प्रक्रिया अघि बढाएको हो।

प्रदेश प्रहरी कार्यालयले आइतबार महतोलाई निलम्बन गर्नुका साथै घटनाको विस्तृत अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक (डीएसपी) जयशंकर जयसवालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालका अनुसार घटनामा प्रयोग भएका शब्द, भाषा र व्यवहारलाई गम्भीर रूपमा लिँदै विभागीय कारवाही सुरु गरिएको छ।

‘दुवैबीच के भएको हो र किन यस्तो घटना भयो भन्ने विषयमा अनुसन्धान सुरु गरेका छौँ,’ उनले भने, ‘महतोलाई निलम्बन गरेर कारबाही प्रक्रिया अघि बढाइसकेका छौँ ।’

छानबिनका क्रममा प्रदेश प्रहरी कार्यालयले दुवै प्रहरी कर्मचारीलाई जनकपुर बोलाएर घटनाबारे सोधपुछ गरेको थियो। प्रारम्भिक सोधपुछपछि महतोलाई निलम्बन गरिएको र यादवलाई आवश्यक परेका बेला उपस्थित हुने गरी कार्यरत स्थानमा पठाइएको ढकालले जानकारी दिए।

घटना यादवका १७ वर्षीय छोरा चन्दनकुमार हराएको विषयसँग जोडिएको छ। एसइई उत्तीर्ण गरेपछि थप अध्ययनका लागि काठमाडौँमा बस्दै आएका चन्दन छठ पर्व मनाउन घर फर्किएका थिए। घर आएको अवस्थामा उनी दुई दिनअघि गौरस्थित निवासबाट सम्पर्कविहीन भएका थिए।

छोरा हराएपछि खोजतलासका लागि प्रहरीलाई जानकारी गराउन यादवले जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुममा फोन गरेका थिए। त्यहाँबाट सञ्चार शाखामा विवरण टिपाउन भनिएपछि उनले सोही शाखामा पुनः सम्पर्क गरेका थिए।

यादवको आरोपअनुसार सञ्चार शाखामा फोन गर्दा आफूलाई सइ बताउने व्यक्तिले सुरुमा ‘जय नेपाल’ नभनेको विषय उठाउँदै अपमानजनक शब्द प्रयोग गरेका थिए।

पछि उक्त व्यक्तिको पहिचान जिल्ला प्रहरी कार्यालय गौरको सञ्चार शाखामा कार्यरत हवल्दार बुधन महतोका रूपमा खुलेको थियो।

सहकर्मीबीच भएको टेलिफोन संवादको अडियो सार्वजनिक भएपछि मधेश प्रदेश प्रहरी कार्यालयले घटनाबारे चासो देखाउँदै छानबिन अघि बढाएको हो।