काठमाडौं । शनिबार र आइतबार देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार नेपालको पश्चिमी क्षेत्रबाट पश्चिमी न्यून चापीय प्रणाली (मौसमको एउटा प्रणाली) भित्रिने अनुमान गरिएको छ ।
शुक्रबार काठमाडौँको अधिकतम तापक्रम बुधबार र बिहीबारको तुलनामा घटेर ३०.५ डिसेमा झरेको छ । यसअघि काठमाडौँको तापक्रम ३३ डिसेभन्दा माथि पुगेको थियो । शुक्रबार काठमाडौँमा हल्का बादल लागेको छ ।
शनिबार देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । साथै, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी आगामी आइतबार देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी,गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।



प्रतिक्रिया