सर्वोच्चले आफ्नै नजिर काट्यो : सुरेन्द्रराज पाण्डे

सर्वोच्चले आफ्नै नजिर काट्यो : सुरेन्द्रराज पाण्डे



पाेखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतबाट एकै प्रकारको मुद्दामा नेकपा (एमाले) ले माग्दा एउटा र नेपाली कांग्रेसले माग्दा अर्को न्याय मिलेको टिप्पणी गरेका छन् ।

मुख्यमन्त्री खगराज अधिकारीले आइतबार पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलमा बोल्दै पाण्डेले भने, ‘एकै प्रकृतिको मुद्दामा एमालेले माग्दा एउटा, कांग्रेसले माग्दा अर्को निर्णय आएका छन् भनेर धेरै विश्लेषण भएका छन् । हामी न्यायालयमा विश्वास गर्छौ, न्याय माग्छौ यसका बारेमा बोल्नै नपाइने होइन, चित्त नबुझेको कुरा राख्छौं । तर हामीले आदेश पालना गर्नुपर्छ ।’

पूर्व मुख्यमन्त्रीसमेत रहेका पाण्डेले कोशीमा सभामुख सरकार निर्माणमा सहभागी हुँदा एमाले सर्वोच्च गएको प्रसंगमा उक्त कुरा बताएका हुन् । ‘त्यही कुरामा एउटा पार्टी न्यायमुर्तिकहाँ जाँदा एउटा, अर्को जाँदा अर्को निर्णय गर्नुभयो, यसमा हाम्रो गम्भीर असहमति छ । संविधानको खिलापमा छ । तथापी, हामी अदालतको निर्णय जस्तोसुकै भए पनि मान्छौं,’ उनले भने ।

अदालतबाट बेलाबखत बेठीक निर्णय भएको र त्यसलाई सच्याइएको उनले बताए । गण्डकी सरकार गठनका विषयमा सर्वोच्च अदालतले वैशाख १७ गते दिएको आदेश पनि सच्याउनुपर्ने उनको तर्क छ ।

‘आफैँले बसाएको नजिरलाई आफैँले काट्ने गरी आएको निर्णय सम्मानित सर्वोच्च अदालतले कुनै दिन सच्याउँछ । सच्चिन जरुरी छ,’ उनले भने, ‘नसच्याउने हो भने न्याय मर्छ । अदालत प्रतिको विश्वास घट्छ । मुलुक अराजकतामा जान्छ । बाध्य भएर यो सच्चिन्छ ।’

गण्डकीमा एमाले नेता खगराज अधिकारीलाई चैत २५ गते मुख्यमन्त्री नियुक्त गर्दा दलहरुले सभामुखलाई समेत जोडेका थिए ।