आफ्ना सांसदहरूलाई विराटनगरमै रहन एमाले र माओवादीको निर्देशन

आफ्ना सांसदहरूलाई विराटनगरमै रहन एमाले र माओवादीको निर्देशन



विराटनगर । कोशी प्रदेशका दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि आह्वान हुन सक्ने भन्दै आफ्ना सांसदहरूलाई विराटनगर नछाड्न र बाहिर भए विराटनगर आउन निर्देशन दिएका छन् ।

एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सांसदहरूलाई विराटनगर नछाड्न र अन्यत्र भए विराटनगर आउन निर्देशन दिइएकाे जानकारी दिए ।

माओवादीले पनि आफ्ना सांसदहरूलाई सोही प्रकृतिको निर्देशन दिएको छ । आज बिहान कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले एमाले र माओवादीका नेताहरुसँग छलफल गरेका थिए ।

कोशीमा एमालेका ४० र माओवादीका १३ जना सांसद छन् । एमालेका हिक्मत कार्कीलाई नयाँ मुख्यमन्त्री बनाउन एमाले र माओवादीले दबाब अघि बढाएका छन् ।

एमालेले मुख्यमन्त्री केदार कार्की मंगलबार रातिदेखि पदमुक्त भएर हाल कामचलाउ अवस्थामा रहेको दाबी गरेको छ । मुख्यमन्त्री कार्कीले २५ वैशाखभित्र विश्वासको मत लिनुपर्नेमा नलिएका कारण २५ वैशाखको राति १२ बजे स्वतः पदमुक्त भएको एमाकाे ठहर छ ।

मुख्यमन्त्री कार्कीले विश्वास मत नलिने र पदबाट राजीनामा पनि नदिने बरू अदालत जाने बताइरहेका छन् ।