टुँडिखेलको सीप मेला अवलोकनपछि मेयर हमालक‍ो प्रस्ताव- धनगढीमा पनि गरौं

टुँडिखेलको सीप मेला अवलोकनपछि मेयर हमालक‍ो प्रस्ताव- धनगढीमा पनि गरौं



धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गाेपाल हमालले काठमाडौंको टुँडिखेलमा आयोजना भइरहेको सीप मेलाको अवलोकन गरेका छन् । बधबार बिहान उनले सीप मेलाको स्थलगत अवलोकन गरेका हुन् । सीप मेलाकाे अवलाेकनपछि उनले युवाहरूलाई स्वराेजगार बनाउन निकै सहयाेग पुग्ने विश्वास व्यक्त गरे । उनले धनगढीमा पनि यस्तै खालकाे सीप मेलाकाे आयाेजना गर्न साझेदारहरूलाई प्रस्ताव गरे । 

‘युवाहरूसँग डिग्रीकाे प्रमाणपत्रभन्दा सिपालु हात हुनुपर्ने अहिलेकाे खाँचाे हाे । यस्ताे खालकाे सीप मेलाले युवालाई आत्मनिर्भर बनाउन मद्दत गर्छ । धनगढीमा पनि यस्तै सीप मेला आयाेजना गर्न हामी तयार छाैँ,’ मेयर हमालले भने, ‘तपाईंहरू आउनुहाेस् । हामी सहकार्य गर्न तयार छाैँ ।’ 

उनले बजारकाे मागअनुसार सीप र तालिम प्रदान गर्नुपर्ने बताए । ‘हिजाे तालिमका नाममा तालिमकाे ठेक्का पाउनेहरू मात्रै राेजगार भए,’ हमालले भने, ‘अब त्यसरी हुँदैन । तालिम लिएकाहरू साँच्चिकै राेजगार हुनेगरी काम हुनुपर्छ ।’

काठमाडौं महानगरपालिका र नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघकाे सहकार्यमा टुँडिखेलमा आयाेजना भइरहेकाे सीप मेलामार्फत एक महिनामा २ हजार ८१ जनालाई रोजगारीमा जोड्ने लक्ष्य राखिएकाे छ । शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई बजारसँग जोड्नका लागि मेलाको अवधारणा अघि सारिएको महासंघका महासचिव छत्र बमले बताए ।

उनले सीप सिक्नका लागि १५ हजारभन्दा धेरै युवाकाे आवेदन परेकाे बताउँदै आगामी दिनमा सबैलाई तालिमकाे अवसर दिएर राेजगारीसँग जाेड्ने लक्ष्य लिइएकाे बताए । राज्यका विभिन्न निकायहरूबाट पनि सकारात्मक प्रतिक्रिया आएकाे उनले बताए ।