आगलागीबाट पाँच वर्षमा साढे ९ अर्ब रुपैयाँकाे क्षति

आगलागीबाट पाँच वर्षमा साढे ९ अर्ब रुपैयाँकाे क्षति



काठमाडौँ । आगलागीका कारण पछिल्लो पाँच वर्षमा झन्डै साढे नौ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार २०७७ सालदेखि यही वैशाख दोस्रो हप्तासम्म भएको आगलागीका कारण घरलगायतका संरचनामा क्षति पुग्दा नौ अर्ब ४७ करोड ४५ लाख ९३ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको हो । पाँच वर्षमा आगलागीबाट चार सय २२ जनाले ज्यान गुमाएका छन् भने एक हजार सात सय छ जना घाइते भएका छन् ।

यो वैशाखमा मात्रै पाँच सय ६८ वटा आगलागीका घटनाबाट ३१ करोड ७६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । यी घटनामा १६ जानाले ज्यान गुमाइसकेका छन् ।

घरमा हुने आगलागीको मुख्य कारण विद्युत शर्ट हुनु देखिएको छ भने खाना पकाउने आगोको व्यवस्थापन राम्रोसँग नहुनु, डढेलो बस्तीमा पस्नु, चाडपर्वमा बत्ती बालेर छाड्नु लगायतका कारण पनि रहेका प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए ।

आगलागी नियन्त्रणका लागि दमकल र फायर पम्प पर्याप्त नहुँदा समस्या भएको प्राधिकरणकाे भनाइ छ । दमकल एक सय ५८ वटा चालु अवस्थामा रहेका, २२ वटा बिग्रिएको अवस्थामा रहेका र एक सय १४ वटा फायर पम्प पालिकामा वितरण नभएका प्राधिकरणले जनाएकाे छ । यस्तै आगलागी नियन्त्रणका लागि दक्ष जनशक्ति नहुँदा पनि पालिकालाई समस्या भइरहेकाे छ ।