नीति तथा कार्यक्रम : गरिब घर परिवार पहिचान गरिने

नीति तथा कार्यक्रम : गरिब घर परिवार पहिचान गरिने



काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षभित्र देशभर रहेका गरिब घर परिवार पहिचान कार्य सम्पन्न गर्ने बताएको छ । 

संघीय संसद्को मंगलबार बसेको संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरिब लक्षित कार्यक्रम एकीकृत रूपले सञ्चालन गर्ने बताएका हुन् । 

उनले भने, ‘पहिचान भइएका गरिबको स्थानीय तहबाट निःशुल्क स्वास्थ्य बिमा गरिने, गरिबको स्थानीय बिमा गरिने तथा विद्यूतीय चुलो, ट्युवेललगायत सामग्री उपलब्ध गराइनेछ ।’

कृषिमा ‘लगानी दशक’ घोषणा

सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को दशकलाई कृषिमा लगानीको दशक घोषणा गरेको छ ।

राष्ट्रपति पौडेलले संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम मार्फत आगामी आव कृषि क्षेत्रको उत्पादन, उत्पादकत्व र बजारीकरणलाई जोड दिने भन्दै कृषि ‘इकोसिस्टम’ सुधार कार्ययोजना कार्यान्वयन गर्ने बताएका हुन् ।

कृषि, पशु र वनको अन्तरसम्बन्ध स्पष्ट हुने गरी भूउपयोगमा आधारित कृषि प्रणाली विकास गर्ने सरकारले घोषणा गरेको हो ।

प्रमुख खाद्यान्न बाली र तरकारीमा आत्मनिर्भर हुने गरी कार्यक्रम पुनर्संरचना गर्ने सरकारले घोषणा गरेको छ । कृषियोग्य भूमिको संरक्षण गर्नै भन्दै सरकारले चक्लाबन्दी योजना सुनाएको हो ।