कुँडो खाँदा २१ वटा बाख्रा मरे

कुँडो खाँदा २१ वटा बाख्रा मरे


ग्लोब नेपाल
54
Shares

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाको वडा न ४ रुप्से, थिङ टोलका अमृत थिङ र दुधमाया थिङले पालेका २१ वटा बाख्रा मरेका छन् ।

मंगलबार चरेर आएपछि बाख्राले आँगनमा राखेको कुँडो खाएका थिए । कुँडो खाएपछि बाख्रा एकाएक ढल्न थालेको स्थानीय अमृत थिङले बताए । अमृत थिङका १७ वटा र छिमेकी दुधमाया थिङले पालेको ४ वटा बाख्रा मरेका छन् ।

अमृत थिङका ८ वटा गर्भवती माउ बाख्रोसहित ३ वटा खसी, २ वटा बोका र ४ वटा पाठापाठी मरेका छन् भने छिमेकी दुधमाया थिङको माउ बाख्रा २ वटा र पाठापाठी २ मरेका छन् ।

कुँडो खाएका बाख्रा मात्रै मरेका कारण कुँडोमा विष या रसायनिक मल परेको हुन सक्ने ४ नम्बर वडाका पशु प्राविधिक रुपेशकुमार मिश्रले बताए ।

बाख्रा मरेको कारण पत्ता लगाउन पशु केन्द्रिय प्रयोगशाला त्रिपुरेश्वरमा पोस्टमार्टमको लागि पठाइएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।