आईसीसी वरीयताकाे टी२०आई अलराउन्डरमा दीपेन्द्र टपटेनभित्र

आईसीसी वरीयताकाे टी२०आई अलराउन्डरमा दीपेन्द्र टपटेनभित्र



काठमाडौं । नेपालका क्रिकेटर दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को वरीयतामा ऐतिहासिक सफलता पाएका छन् । यो वर्ष उत्कृष्ट क्रिकेट खेलिरहेका दीपेन्द्र टी२०आई अलराउन्डरमा टपटेनभित्र परेका हुन् ।

नेपालले टी२०आईको मान्यता पाएपछि पहिलोपटक नेपाली खेलाडी आईसीसी वरीयताको टपटेनमा परेका हुन् ।

आईसीसीले पछिल्लोपटक अपडेट गरेको वरीयताअनुसार यसअघि ११औं स्थानमा रहेका दीपेन्द्र एक स्थान सुधार गर्दै १०औँ स्थानमा आइपुगेका हुन् । यो विधामा बंगलादेशका साकिश अल हसन एक नम्बरमा छन् । दीपेन्द्रले पाकिस्तानका सादब खानलाई पछाडि पार्दै १० भित्र स्थान बनाएका हुन् । सादाब ११औँ स्थानमा झरेका छन् ।

टी२०आई अलराउन्डरमा नेपालका कुशल मल्ल ३३ औँ, गुल्सन झा ६१ औँ, कप्तान रोहित पौडेल ६६औँ र करण केसी ७४औँ स्थानमा छन् ।

टी२०आई बलरतर्फ नेपालका एक मात्र खेलाडी सोमपाल कामी टप सयभित्र छन् । उनी ९२औँ स्थानमा छन् । ब्याटरतर्फ दीपेन्द्रसिंह ऐरी ५०औँ स्थानमा छन् भने कप्तान रोहित पौडेल ६१औँ र ओपनर आसिफ शेख ८७औँ स्थानमा छन् ।

नेपाल टी२० आई वरीयताताकाे १७ औं स्थानमा छ ।