फैसलालाई सम्मान गरेर अगाडि बढ्छु : सन्दीप लामिछाने

फैसलालाई सम्मान गरेर अगाडि बढ्छु : सन्दीप लामिछाने



काठमाडौं । उच्च अदालत पाटनबाट बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका छन् ।

जिल्ला अदालत काठमाडौंको फैसला उल्टाउँदै उच्च अदालत पाटनले सन्दीपलाई सफाइ दिएको हाे । सफाइ पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सन्दीपले आफूलाई फसाएर दोषी करार गरिएको बताए ।

पहिलादेखि नै आफूले निर्दोष भएको जिकिर गरेको उनले स्मरण गरे ।

उच्च अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने भन्दै उनले नेपाललाई क्रिकेटमार्फत आफूले जुन उचाइसम्म पुर्‍याएको हो, त्यसभन्दा पनि माथि पुर्‍याउन प्रयत्न गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

उनले भनेका छन्, ‘पहिलो दिनदेखिनै निर्दोष छु भनेर भनिरहेको छु, अन्ततः यहाँसम्म आइसकेका छौँ । जिल्ला अदालतको फैसला पनि सम्मान गरेकै हुँ, आजको फैसलाको पनि सम्मान नै गर्छु । मलाई साथ दिने सबैप्रति आभारी छु । आगामी दिनमा नेपाललाई जहाँ मैले पुर्‍याएको थिएँ, त्यसभन्दा माथि पुर्‍याउने प्रयत्न गर्ने छु ।’