एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने

एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने



धनगढी । नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ ।

सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका संसदीय दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर पालले जानकारी दिए । विश्वासको मत दिए पनि एमाले तत्काल प्रदेश सरकार सहभागी नहुने उनले बताए ।

प्रमुख सचेतक पालले भने, “केन्द्रबाट अर्को निर्देशन नआउञ्जेलसम्म एमाले प्रदेश सरकारमा सहभागी हुने छैन ।”

यही जेठ ३ गते बिहीबार बस्ने सुदूरपश्चिम प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यसूची छ । नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता एवं मुख्यमन्त्री सोडारी गत वैशाख ६ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

सत्तासाझेदार एमालेले तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि यसअघि वैशाख २१ र २२ गते मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएकाे प्रदेशसभाको बैठक स्थगित गरिएको थियो ।

एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेशसभा सदस्य र स्वतन्त्र डा तारा जोशीको समर्थनमा सोडारी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । त्रिपन्न सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादी पार्टीका चार तथा राप्रपा र स्वतन्त्र एक एक सदस्य छन् ।