प्रहरी जवानको हत्यामा संलग्न रहेको आरोपमा ७ जना पक्राउ

प्रहरी जवानको हत्यामा संलग्न रहेको आरोपमा ७ जना पक्राउ

केटी साथीलाई जिस्काएको निहुँ



काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-९ मनमैजुस्थित हरियोचौरमा प्रहरी जवानको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा ७ जना पक्राउ परेका छन् ।

दरबारमार्ग ट्राफिक प्रहरीमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्या भएको अवस्थामा शुक्रबार हरियोचौरको निर्माणधीन दुइतले घरमा शव भेटिएको थियो ।

उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले शनिबार ७ जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भक्तपुर घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, नुवाकोट घर भएकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जा घर भएकी २१ वर्षीया विपना भनिने वसुन्धारा कार्की, ५६ वर्षीया महिला, नुवाकोट घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र १३ वर्षका नाबालक छन् ।

उनीहरू सबैजना बालाजु, जरंखु, मनमैजु लगायतका स्थानहरूका निर्माणाधीन घरहरूलाई आश्रय बनाएर बस्ने गरेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

उनीहरूलाई भाग्न लागेको अवस्थामा हवाई फायर गरी पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी बसन्त रजौरेले जानकारी दिए ।

उनीहरू सबै लागुऔषध प्रयोगकर्ता हुन् । गएको शुक्रबार तारकेश्वर नगरपालिका—९, मनमैंजुमा एक निर्माणाधीन घरको भुइँमा घिमिरे रक्ताम्ये अवस्थामा मृत फेला परेका थिए । त्यो घरलाई लागुऔषध प्रयोगकर्ताहरूले अखडा बनाएका थिए ।

प्रारम्भिक विश्लेषणबाट अनुसन्धान गर्दा घिमिरे ड्युटी सकाएर घरतर्फ जाने क्रममा हत्या भएको खुलेको छ ।

प्रहरीका अनुसार घिमिरे ड्युटी सकेर घरजानु अघि खाजा खान तार्केश्वर ११ को एक सानो होटलमा पसेका थिए । सोही क्रममा अन्जली श्रेष्ठ र सचिन परियार पनि त्यही खाजा घरमा खाजा खान पुगेका थिए । घिमिरे र परियारको पुरानो चिनजान अनुसन्धानबाट देखिएको छ । उनीहरु तीनजना सँगै एउटै टेवलमा बसेर खाजा खाएका थिए ।

त्यहीँबाट उनीहरुबीच विवाद सुरु भएको देखिन्छ । त्यहाँ घिमिरेले अञ्जलीलाई जिस्काएपछि आफूलाई रिस उठेको परियार प्रहरीलाई बताएका छन् । त्यसपछि सचिनले अन्जलीलाई विसन्चो भयो भनेर माथिसम्म पुर्‍याइदिन युवराजलाई अनुरोध गरेका थिए । उनीहरू एउटै मोटरसाइकलमा सो स्थानमा गएको पाइएको छ ।

त्यहाँ पुगेर बसौं भनेर युवराजलाई भनेको घटनास्थलमा पहिलेदेखि नै आश्रय लिएर बसेको विपना कार्की, नुरमाया कार्की, बुद्ध लामा अमृत तामाङ र एक नावालकले अन्धाधुन्द इटा, रड, युवराजको युनिर्फमको बेल्ट र ढुंगा प्रयोग गरि हत्या गरेका थिए । हत्या गरिसकेपछि उनीहरुले युवराजको शवलाई ठाउँ परिवर्तन गरी घरको १० मिटर बाहिर छोपेर राखेका थिए ।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।