अमेरिकी दूतावासले सन्दीपको भिसाबारे टिप्पणी नगर्ने

अमेरिकी दूतावासले सन्दीपको भिसाबारे टिप्पणी नगर्ने



काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा अस्विकार गरेको विषयमा टिप्पणी नगर्ने बताएको छ । दूतावासले आइसिसी टी-२० विश्वकप २०२४ मा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिँदै सन्दीपकाे भिसा अस्विकार गरेको विषयमा भने टिप्पणी नगर्ने बताएको हाे ।

नेपाली राष्ट्रिय टोली वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकपको अन्तिम तयारीका लागि हाल अमेरिकामा छ । त्यसका लागि अमेरिका जान लागेका लेगस्पिनर लामिछानेको भने भिसा अस्विकृत भएको थियो ।

दूतावासले भनेकाे छ, ‘अमेरिकामा हुने टी-२० विश्वकपमा नेपालको पुरुष राष्ट्रिय क्रिकेट टोलीको सहभागिताबारे अमेरिकी दूतावास अत्यन्तै उत्साहित छ र वास्तवमा प्रस्थानपूर्व उक्त टोलीको सराहना र प्रोत्साहन गर्न दूतावासका केही अधिकारीले केही हप्ताअघि टोलीसँग भेट पनि गरेका थिए । आउँदै गरेका खेलहरूका निम्ति सम्पूर्ण टिमलाई हाम्रो शुभकामना छ ।’

अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भएकोले भिसाको कुनै केस विशेषबारे टिप्पणी नगर्ने भन्दै दूतावासले अघि भनेको छ, ‘उपयुक्त भिसा वर्गका लागि योग्य हुने राष्ट्रिय क्रिकेट टोलीहरूका सदस्य विश्वकपमा प्रतिस्पर्धा गर्न समयमै अमेरिकाको यात्रा गर्न सक्षम होउन् भन्ने सुनिश्चित गर्न काठमाडौँस्थित अमेरिकी दूतावास र विश्वभरका अन्य अमेरिकी कन्सुलर पोस्टहरूले एकजुट भइ काम गरेका छन् । अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भएकोले हामी भिसाको कुनै केस विशेषबारे टिप्पणी गर्न सक्दैनौँ ।’

यसअघि उच्च अदालत पाटनले लामिछानेलाई जिल्ला अदालत काठमाडौ‌ले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उल्टाउँदै बुधबार सफाइ दिएको थियो ।

त्यसपछि उनलाई नेपाल क्रिकेट संघले निलम्बन फुकुवा गर्दै विश्वकपका लागि नेपाली टिममा राख्नका लागि आइसिसीसँग सहमति लिएको थियो । आइसिसीको सहमतिसँगै सन्दीप अमेरिका जान लागेका थिए ।