व्यावसायिक चियाखेतीसँगै पर्यटन प्रवर्द्धन गर्दै भोजपुरका रञ्जित गिरी

व्यावसायिक चियाखेतीसँगै पर्यटन प्रवर्द्धन गर्दै भोजपुरका रञ्जित गिरी



भोजपुर । टेम्केमैयुङ गाउँपालिका-३ का ३५ वर्षीय रञ्जित गिरी चियाखेतीमा लागेको एक दशक नाघ्यो । बुबा शरमान गिरीले सुरु गरेको चियाखेतीलाई अगाडि बढाएका उनको दैनिकी चियाका बोटको हेरचार, स्याहार र प्रशोधनमै बित्छ ।

८० रोपनी क्षेत्रफलमा फैलिएको चियाबगानलाई उनले यतिबेला पर्यटकीय गन्तव्य बनाउन सक्रिय छन् । ‘यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर चिया बगानभित्रै टेम्के फनपार्क तथा रिसोर्ट सञ्चालन सुरु गरेको छु’, रञ्जित गिरीले भने, ‘रिसोर्ट निर्माणपछि पर्यटकहरु बिस्तारै बढ्न थालेका छन् ।’

करिब एक वर्षअघिबाट सञ्चालनमा आएको रिसोर्टमा ९० लाख रुपैयाँ लगानी गरेका छन । चियाखेतीबाट आम्दानीसँगै बगानमा पर्यटक बढाउन पनि सकिने उनको विश्वास छ ।

विसं २०७६ देखि गुरास चिया उद्योग सञ्चालन गरिरहेका उनको यो उद्योग भोजपुरमा एक्लो हो । हालसम्म चियाका लागि करिब रु दुई करोड ५० लाख लगानी गरेका उनले आफूले उत्पादन गरेको चियाले नेपाल चिया तथा कफी विकास बोर्डबाट ट्रेडमार्कसमेत पाइसकेको उनले जानकारी दिए ।

‘अर्ग्यानिक चिया भएकाले देशका ठूला सहरसँगै विदेशसम्म जान थालेकाले चिया बजारीकरणमा कुनै समस्या छैन’, उनले भने । गिरीले चियाले उचित मूल्य पाएमा वार्षिक रु २५ देखि ३० लाखसम्म आम्दानी गर्न सकिने उनले बताए ।

उनले हाल अर्ग्यानिक हरियो चिया (ग्रिनटी) प्रतिकेजी एक हजार आठ सय रुपैयाँ, कालो चिया एक हजार दुई सय र सिल्भर चिया ३० हजार रुपैयाँमा बिक्री गर्दै आएका छन् । उनले चिया उद्योग सञ्चालनका लागि कोशी प्रदेश सरकारबाट प्रोत्साहनस्वरुप रु १७ लाख ५० हजार अनुदान पनि पाइसकेका छन् ।

‘चियाखेतीबाट आम्दानी राम्रो छ, अब पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना बनाएका छौँ’, उनले भने, ‘चियाखेती हुने क्षेत्रफल बढाउने पनि योजना छ ।’ हाल उनको उद्योगमा पाँच जनाले रोजगारी पाइरहेका छन् ।

बगानमा उत्पादन भएको चिया एक महिनामा चार पटकसम्म टिप्न सकिने गिरीले जानकारी दिए । उनले चियाको नर्सरीसमेत आफैं गर्दै आएका छन् । साथै उनले किसानलाई आवश्यक परामर्श पनि दिँदै आएका छन् ।

व्यवसायी गिरीलाई प्रोत्साहन गर्नका लागि वडा कार्यालयका तर्फबाट सडक मर्मतका लागि तीन लाख रुपैयाँ उपलब्ध गराइएको वडाध्यक्ष पूर्णप्रसाद राईले बताए ।