सगरमाथा आरोहणमा फोटो पत्रकार पूर्णिमाको विश्व कीर्तिमान

सगरमाथा आरोहणमा फोटो पत्रकार पूर्णिमाको विश्व कीर्तिमान



काठमाडौँ । फोटो पत्रकार पूर्णिमा श्रेष्ठले एउटै याममा तीन पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर विश्व किर्तिमान कायम गरेकी छिन् । वसन्त ऋतुमा जारी सगरमाथा आरोहणमा उनले शनिबार बिहान सगरमाथाको चुचुरोमा तेस्रो पटक पाइला टेकेर कीर्तिमान बनाएकी हुन् ।

पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले आरोही श्रेष्ठले आज बिहान ५:५० बजे सगरमाथाको सफल आरोहण गरेको जानकारी दिए ।

पत्रकार श्रेष्ठ एउटै याममा तीन पटक सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेकी छिन् । उनको यो सहित सगरमाथा आरोहण चौथो पटक हो। श्रेष्ठले यसअघि यही याममा मे १२ तारिखमा पहिलो पटक तथा मे १९ मा दोस्रो पटक सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।

गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् १०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन्। उनले सगरमाथा सहित विश्वका विभिन्न हिमाल आरोहण गरिसकेकी छिन् ।

विश्वका आठ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहण अभियानमा रहेकी श्रेष्ठले गत वर्ष साउनमा पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको आरोहण गरेकी थिइन् ।