कोशी प्रदेशसभा बैठक स्थगित गर्न सभामुखलाई कांग्रेसको आग्रह

कोशी प्रदेशसभा बैठक स्थगित गर्न सभामुखलाई कांग्रेसको आग्रह



विराटनगर । कोशी प्रदेशसभा बैठक स्थगित गर्न नेपाली कांग्रेस संसदीय दलले सभामुखसँग माग गरेको छ । 

संसदीय दलको छलफलपछि सभामुख अम्बरबहादुर विष्टसमक्ष आइतबारको बैठक स्थगित गर्न सभामुखसँग माग गरिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिएका छन् । 

कोसीमा प्रदेश सरकार गठनको विवाद सर्वोच्च अदालतबाट सुनुवाइ भई फैसला हुन बाँकी रहेकोले बैठक आज नगर्न कांग्रेसले आग्रह गरेको उनले बताए ।

यसअघि गत वैशाख ३१ गते बसेको बैठक कांग्रेसले बहिष्कार गरेको थियो । हिक्मत कार्की मुख्यमन्त्री बनेको विषयमा कांग्रेस सर्वोच्च गएको छ र यस मुद्धाको अन्तिम सुनुवाई हुन बाँकी रहेको छ ।

कोशी प्रदेश सभाको बैठक आज अपराहन्न १ बजेका लागि बोलाइएको छ र आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची रहेको छ ।