ठूला होटल खुलेसँगै चितवनमा विदेशी पर्यटकको संख्या बढ्यो

ठूला होटल खुलेसँगै चितवनमा विदेशी पर्यटकको संख्या बढ्यो



चितवन । ठूला होटल खुलेसँगै चितवनका पर्यटकीयस्थलमा विदेशी पर्यटकको सङ्ख्या बढेको छ । चितवन राष्ट्रिय निकुञ्जभित्रका होटल बन्द भएपछि विदेशी पर्यटकको संख्या घटेको थियो । भर्खरै सञ्चालनमा आएका ठूला होटलले निकुञ्जभित्रकै अनुभूति हुने गरी पर्यटकलाई सेवा दिन थालेपछि पर्यटकको संख्या वृद्धि भएको हो ।

निकुञ्ज स्थापना हुनुअघि खुलेको टाईगर टप्स होटलसमेत बन्द छ । पछिल्लो समय सौराहा नजिकै खैरहनीको हर्नरीमा होटल सिद्धार्थ भिलासा वनबास सञ्चालनमा आएको छ । होटल प्रवेश गर्दा निकुञ्जभित्रकै झल्को दिने गरी निर्माण गरिएको छ ।

होटलका महाप्रबन्धक प्रकाश न्यौपानेले निकुञ्जभित्रको अनुभूति दिलाउने भएकाले खर्चिला विदेशी पर्यटक आएको बताए । उनका अनुसार दुई रातका लागि एक जना पर्यटकले सजिलै दुई सय ५० अमेरिकी डलर तिर्ने गरेका छन् । होटलमा आउने पर्यटकमध्ये आधाभन्दा बढी विदेशी छन् । अमेरिका, जर्मन, क्यानडा, अष्ट्रेलिया, चीन, भारतलगायतका देशबाट पर्यटक आउने गरेको उनले जानकारी दिए ।

वरिपरी जङ्गलले घेरिएको रिसोर्टभित्र रुख बिरुवाले निकुञ्जको झल्को दिने गर्दछ । तीन बिघा १० कठ्ठा क्षेत्रफलमा फैलिएको रिसोर्टमा ४० वटाभन्दा बढी प्रजातिका रूखबिरुवा छन् । होटल वरिपरि मध्यवर्ती सामुदायिक वन क्षेत्र भएकाले होटलको रेष्टुराँबाट गैँडा, मृग लगायतका जङ्गली जनावर चर्दै गरेको देख्न पाइन्छ । ४५ करोड रुपैयाँभन्दा बढी लगानीमा खुलेको यो होटल गएको दशैंदेखि सञ्चालनमा आएको हो । यहाँ एक जोडी नेपालीले एक रात बस्न १० हजार रुपैयाँ तिर्नु पर्दछ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी सुविधासम्पन्न होटल नहुँदा अन्य देश जान थालेका पर्यटक फेरि चितवन आउने क्रम बढेको बताउछन् । भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ डाक्टर विश्व सुवेदीले ठूला होटल खुलेसँगै खर्चिला पर्यटक आउन थालेको बताए ।

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाइरहेको छ ।