काठमाडौं । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको छ । समसामयिक राजनीतिका साथै मधेश सरकारबारे आवश्यक निर्णय लिन बैठक बसेको एक पदाधिकारीले जानकारी दिए ।
मधेशमा अहिलेका मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा छन् । जसपाका यादव सरकारलाई दिएको समर्थन माओवादी केन्द्र र नेकपा एमालेले फिर्ता लिएका छन् । उनी बहुमत जुटाउन सक्रिय रहे पनि हालसम्म उनको पक्षमा बहुमत जुटिसकेको छैन । कांग्रेसले यादवलाई सहयोग गर्ने की आफैँले नेतृत्वका लागि पहल गर्ने भन्ने निर्णय लिइसकेको छैन ।
बुधबार कांग्रेसले नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्षसँग मधेश सरकारबारेमा छलफल गरेकाे थियाे ।
१०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ । मधेसमा कांग्रेसका २२, जसपा नेपालका १९, एकीकृत समाजवादीका ७ र लोसपाका ८ गरी ५६ सांसद छन् । कांग्रेस, जसपा नेपाल, एकीकृत समाजवादी, लोसपा एक ठाउँमा आउँदा मधेसमा सरकार बन्ने देखिन्छ ।
प्रतिक्रिया