हाते ट्रयाक्टर छोडेर गोरु पाल्दै किसान

हाते ट्रयाक्टर छोडेर गोरु पाल्दै किसान



गलकोट (बागलुङ) । सङ्घीयतापछि स्थानीय सरकारले कृषि आधुनिकीकरणका नाममा धमाधम हाते ट्रयाक्टर (मिनिटिलर) अनुदानमा वितरण गरे । गोरु पालनले दिक्क भएका किसानले राहत महसुस गर्दै हाते ट्रयाक्टरले खेतबारी जोत्न थाले ।

आधुनिक उपकरणको सहायताले खेतबारी जोत्दा सहज भयो, सस्तो पनि प-यो तर बिस्तारै उत्पादनमा भने ह्रास आउन थाल्यो । बागलुङ जिल्लाको गलकोट नगरपालिका-४ चमुवा फाँटमा हाते ट्रयाक्टरले धान रोप्न छोडेको दुई वर्ष भइसक्यो । गोरु पाल्न छोडेका किसानले पछिल्लो समय गोरुको महत्व बुझेर पाल्न थालेको स्थानीय रतनबहादुर सुनारले बताए । चमुवा फाँटमा अहिले पाँच हलगोरु रोपाइँमा प्रयोग भइरहेका छन् ।

“हाते ट्रयाक्टरले जोत्दा माथिमाथि मात्रै जोत्दो रहेछ, गहिरो नजोत्दा उत्पादनमा समस्या भयो, गहुँ र मकै ढल्ने समस्या देखियो । हेर्दा छरितो भए पनि दीर्घकालीन रुपमा गोरुले जोत्दा खेतीयोग्य जमिनलाई राम्रो हुने हामीले महसुस ग-यौँ,” सुनारले भने, “चमुवामा हाते ट्रयाक्टर नआउँदा १० हलगोरु थिए, हाते ट्रयाक्टर आएपछि धेरैले गोरु बिक्री गरे । पछि गोरुले जोत्दा बाली राम्रो भयो, हाते ट्रयाक्टरमा हाल्ने पेट्रोलको भाउ समेत दोब्बर भयो, त्यसैले गोरुले जोत्न थालियो ।”

चमुवामा छ दिनको मेलो रोपाइँको तयारी गरेका शेरबहादुर न्यौपानेले गोरुकै सहायताले खेतमा धान रोप्न लागेको बताए । पेट्रोलको मूल्य दोब्बर हुनु र उपकरण बिग्रिरहने समस्याले किसानहरु हाते ट्रयाक्टर छोडेर पुनः गोरु पाल्न थालेको बताउँछन् ।

गोरु लोप हुन थालेपछि पछिल्लो एक वर्षयता बागलुङको जैमिनी नगरपालिका र बागलुङ नगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन समेत गर्न थालेका छन् । एक हल गोरु पाल्ने किसानलाई रु १० हजारका दरले अनुदान दिन लागिएको जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले बताए ।

बागलुङ नगरपालिकाले गोरु किसानलाई प्रोत्साहन गर्न रु चार लाख बजेट विनियोजन गरेको नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले बताए । कृषिमा आधुनिकीकरणका कारण गोरु लोप हुन थालेपछि गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्दा गोरुको महत्व बढेको छ । थ्रेसर मेसिन र ट्रयाक्टरले उत्पादन लागत घटाउने भए पनि पेट्रोलको मूल्य बढेपछि हाते ट्रयाक्टरको प्रयोग बिस्तारै घट्न थालेको छ ।