कतारकी महारानी सगरमाथा नचढी फर्किन्

कतारकी महारानी सगरमाथा नचढी फर्किन्

पर्वतारोहणभित्र बेथिति उत्कर्षमा


ग्लोब नेपाल
9.9k
Shares

काठमाडौं । सगरमाथा आरोहणमा संवेदनशील स्थान मानिने बाल्कोनी र साउथ समिटबीचको डोरी (फिक्स्ड रोप) काटिएको खबरपछि सगरमाथा आरोहणको क्रममा रहेकी कतारकी महारानी बीचैमा आरोहरण परित्याग गरी फर्कन बाध्य भएकी छन् । सुरक्षाका कारण महारानीको आरोहण गोप्य राखिएको थियो ।

सगरमाथा आराहणको क्रममा ल्होत्से हिमालको सफल आरोहरण पछि उनी सगरमाथा आरोहणको क्रममा रहेकी थिइन । महारानी क्याम्प–२ बाटै आरोहण परित्याग गरी स्वदेश फर्किएको आरोहण दलका एक सदस्यले बताए ।

महारानीको पथ प्रदर्शन गर्दै सगरमाथा आरोहरण गर्नेक्रममा निर्मल पूर्जालाई बीच बाटोमै फिक्स्ड रोप काटिएको खबर आएपछि टोलीले आरोहण परित्याग गरेको बताएको छ । एक्कासी डोरी काटिएको खबरपछि कीर्तिमानी आरोही निर्मल पूर्जाले सोही ठाउँबाट जेठ १३ गते एक सन्देश रेकर्ड गरी इन्स्टाग्राममा राखेको भिडियो अहिले विश्वभर भाइरल बनेको छ ।

बसन्त ऋतुमा हुने हिमाल आरोहणको समय सकिनै लाग्दा सगरमाथाको आधार शिविरबाटै सार्वजनिक भएको २ मिनेट २० सेकेण्डको भिडियोबाट नेपालको पर्वतीय पर्यटन उद्योग यतिबेला तरंगीत बनिरहेको छ ।

अहिले हिमाल आरोहणको क्षेत्रमा व्याप्त बेथिति सीमा नाघ्ने क्रममा रहेको कीर्तिमानी आरोही मिङमार डेभिड शेर्पा बताउँछन् । उनका अनुसार अहिले सगरमाथा आधार शिविरलाई चिनाउन गाउँपालिकाले त्यहाँ राखेको साइनबोर्ड समेत निकालेर फ्याँकिएको छ । जबकी स्थान परिचय गराउन संसारभर यस्तो बोर्ड राख्ने चलन रहेको छ ।

यतिबेला बाल्कोनी र साउथ समिटबीचको आरोहणको क्रममा चाहिन डोरी (Fixed Rope) काटिएको विषयले नेपालको पर्वतीय पर्यटनलाई लिएर अनेकौं आशंकाहरू सृजना गराइदिएको छ । यसबाट नेपालको पर्वतीय पर्यटनमा नकारात्मक प्रभाव पर्ने अवस्था आएपछि पर्यटन विभागले जेठ १४ गते एक विज्ञप्ति जारी गर्दै डोरी काटिएको सत्य नभएको र त्यसपछि पनि अन्य टोलीले आरोहण गरेको भन्दै खण्डन गरेको छ । घटनाको सत्यता नभएको भन्दै गलत हल्ला फैलाएको विषयमा छानविन शुरु गरेको समेत पर्यटन विभागले जनाएको छ ।

निर्मल पुर्जाले विशिष्ट व्यक्तिलाई हिमाल आरोहण गराउँदै गरेको थाहा पाएपछि उनको आरोहण असफल बनाउने प्रयास हुन सक्ने आकलन गरिएको छ ।

डोरी काटिएको भन्ने विषय सामान्य कुरा नभएको र यसबाट विश्व पर्यटन बजारमा समेत नेपालको छवि र यस क्षेत्रको विश्वसनीयतालाई लिएर नकारात्मक सन्देश प्रवाह हुने चिन्ता बढाएको पर्यटन व्यवसायीहरु बताउँछन् ।

यस विषयमा हिमाल आरोहण र यस क्षेत्रमा संलग्न संघसंस्था, कम्पनी तथा पर्वतारोहीहरूको चासो र चिन्ता पनि सार्वजनिक भइरहेका छन् ।

कीर्तिमानी पर्वतारोही निर्मल पूर्जाले सार्वजनिक गरेको भिडियोमा पिक प्रमोशनका प्रबन्ध निर्देशक तथा पर्यटन व्यवसायी आङबाबु शेर्पा (बाबु शेर्पा) ले वकिटकी मार्फत् सगरमाथाको बाल्कोनी र साउथ समिट बीचको डोरी काटिएको र त्यहाँबाट आफ्नो टोलीले संकलन गर्नुपर्ने लाश संकलन नगरी फर्किन बाध्य भएको बताएका छन् ।

आधार शिविरबाट आफ्नो टोलीलाई लिएर सगरमाथा आरोहणको तयारी गरिरहेका बेला आरोहणको मुख्य र संवेदनशील ठाउँको डोरी काटिएको सूचनाले चिन्तित र आक्रोशित बनेका पूर्जाले निकै संवेदनशील कुराहरू पनि भिडियोमा व्यक्त गरेका छन् । यसले पूर्जालाई समेत विवादित बनाइदिएको छ ।

‘यो निकै संवेदनशील कुरा हो । पूर्जाको काँधमा राखेर दोस्रोले बन्दुक पड्काए जस्तै भयो’, इलाइट एक्सपिडिसनका निर्देशक तथा कीर्तिमानी आरोही मिङमार डेभिड शेर्पा बताउछन् ।

‘पर्वतारोहण जस्तो संवेदनशील क्षेत्रमा यस्तो कुरा सार्वजनिक हुँदा यसले विश्व पर्यटन बजारमा समेत नेपलको पर्वतीय पर्यटनको विषयमा नकरात्मक सन्देश जान सक्छ, जुन अत्यन्तै गम्भीर कुरा हो’, एक व्यवसायी बताउँछन् ।

नियोजित रुपमा चलाइएको यो हल्लाको पछाडीको निहित स्वार्थका अन्य पाटाहरुसमेत उजागर भइरहेका छन् ।

पहिलो, निर्मल पुर्जाले विशिष्ट व्यक्तिलाई हिमाल आरोहण गराउँदै गरेको थाहा पाएपछि उनको आरोहण असफल बनाउने प्रयास हुन सक्ने आकलन गरिएको छ ।

दोस्रो, अहिले नेपाली सेनाले हिमाल सफाई अभियान संचालन गरिरहेको छ । सफाइ अभियानमा सेनालाई आवश्यक सहायोग उपलब्ध गराउने ठेक्का आङबाबुको पिक प्रमोशन कम्पनीले पाएको छ । यो त्यही कम्पनी हो जसले सेनाको अधिकारीहरूसँग मिलेमतो गरी सेनाको सफा हिमाल अभियानमा अन्य कम्पनीहरुले प्रतिस्पर्धा नै गर्न नमिल्ने प्रावधान राख्न लगाएर सेनाको काममा एकलौटी गरेको आरोप लाग्ने गरेको छ । यो विषयमा यस क्षेत्रका ठूला र मुख्य पर्यटन कम्पनीहरुले सेनाका अधिकारीहरुलाई भेटेर यस सम्बन्धमा गुनासो राखेको 8k एक्सपिडिसनका निर्देशक पेम्बा शेर्पाले बताए ।

यस वर्ष हिमाल सफाइ अभियानले विगतमा जस्तो फोहोर संकलनको कार्यसमेत नगरेको व्यवसायीहरू बताउछन । हिमालको फोहोर संकलनमा उपयोग गर्नुपर्ने साधन श्रोतको दुरुपयोग गर्दै पिक प्रमोशनका आङबाबु शेर्पा सगरमाथाको चुचुरोमा पुगेका छन् । उनले गरेको आरोहण तत्काल गोप्य राखे पनि पछि सार्वजनिक भएको थियो ।

हिमाल सफाई कार्यमा खटिएका मान्छे फोहोर संकलन नगरी आरोहणमा केन्द्रित हुनु उदेश्य विपरितको काम भएको एसियाकै पहिलो अन्तराष्ट्रिय हिमाल पथप्रदर्शक दावा याङजुङ शेर्पा बताउँछन् ।

हिमालको फोहोर संकलन र आरोहण एउटै जस्तो लागे पनि यो नितान्त फरक विषय हो । हिमालबाट फोहोर संकलन गरेर ल्याउनु आफैमा कठिन कार्य हो । यो त्यतिकै खर्चिलो पनि हुन्छ ।

सेनाको सफा हिमाल अभियानको ठेकेदार पिक प्रमोशनका आङबाबु शेर्पाले सगरमाथाको माथिल्लो शिविरमा रहेका शव संकलन गरेर तल ल्याउनु पर्ने थियो । तर आरोहणको सिजन सकिएर अन्तमा एक दुई टोली मात्र बाँकी रहेको बेला बाल्कोनी र साउथ समीट बीचको डोरी काटिएको हल्ला चलाउँदा आरोहण गर्न बाँकी टोलीले आरोहण परित्याग गर्ने, त्यही बहनामा लाश संकलन गर्न नसकिएको बताउन मिल्ने, लाश तल ल्याउँदा लाग्ने खर्च जोगिने भएकाले यही स्वार्थको कारण आङबावुले नियोजित रुपमा पूर्जालाई उपयोग गरेको हुन सक्ने आशंका पर्यटन व्यवसायीहरू गर्छन् ।

पूर्जा जस्तो विश्व विख्यात आरोहीमार्फत् यस्तो सूचना प्रवाहित गर्दा सवैले विश्वास गर्ने भएकाले आङबाबु शेर्पाले आफ्नो निहित स्वार्थ पुरा गर्न पुर्जालाई जानाजान गलत सूचना दिएर भ्रमित तुल्याएको हुन सक्ने नाम नबताउने शर्तमा एक जना चर्चित पर्यटन व्यवसायीले बताए ।

नकाटिएको डोरी काटिएको भनेर सूचना दिएपछि आफ्नो टोली लिएर सगरमाथा चढ्दै गरेको व्यक्ति चिन्तित हुनु स्वभाविक हो । किनकि योसँग उसको कम्पनी प्रतिको विश्वास, भरोसा र रोजीरोटी पनि जोडिएको हुन्छ । शेर्पा जस्तो सेनाको हिमाल सफाई अभियानको ठेक्का लिएर सेनालाई सघाइरहेको जिम्मेवार व्यक्तिको सूचना सही हुन सक्छ भन्ने विश्वासमा पर्दा निर्मल पूर्जा जवरजस्ती विवादमा तानिएको पर्यटन व्यवसायीहरू बताउछन् । तर, सूचनालाई भेरिफाइ नगरी र वास्तविकता नबुझि हतार हतार कल रेकर्ड गरी भिडियो बनाएर सामाजिक संजालमा राख्नु पूर्जाको गल्ती हो । सूचनालाई विश्वास गरेर आफ्नो आक्रोश पोख्दा अहिले पुर्जा विवादमा मात्र परेका छैनन्, उनी माथि पर्यटन विभागले छानबिन समेत गरिरहेको छ ।

ग्लोब नेपालसँगको कुराकानीमा पर्यटन विभागका प्रवक्ता कालीबहादुर भुजेलले छानबिन प्रक्रिया अगाडी बढेको र स्पष्टिकरण सोध्ने तयारी भएको बताए ।

निर्मल पूर्जाले हिमालबाट सार्वजनिक गरेको भिडियोले नेपालको पर्वतीय पर्यटनका विषयमा विश्वभर नराम्रो सन्देश गइरहेको छ । यो घटनापछि पायोनियर एडभेन्चर प्रालि को टोलीले सगरमाथाको सफल आरोहण गरेका छन् । सो टोलीले डोरी नकाटिएको र यो गलत हल्ला फैलाउने कार्य भएको पुष्टि गरेको थियो । त्यसपछि पर्यटन विभागले छानबिन थालेको हो ।

नेपालको पर्वतीय पर्यटनलाई बदनाम गराउन नियोजित रुपमा चलाइएको यो घटनाको विषयमा पर्यटन विभागले छानबिन प्रकृया थालेपछि पिक प्रमोशन कम्पनीका शेर्पाले छानबिनलाई प्रभावित तुल्याउन केही प्रभावशाली नेताहरूलाई हेलिकप्टरमार्फत सगरमाथा बेसक्याम्पको सयर गराएको आरोप केही पर्यटन व्यवसायीहरूको छ । सगरमाथा दिवसको अवसर पारेर राजनीतिक दलका केही जिम्मेवार तहमा बसेका नेताहरूलाई सफा हिमाल अभियानकै साधन श्रोतको दुरुपयोग गरेर सगरमाथा आधार शिविर घुमाएको आरोप पनि व्यवसायीहरूले लगाएका छन् । अर्कातर्फ हिमाल आरोहणमा संलग्न ठूला कम्पनीहरुबीचको अस्वस्थ्य प्रतिस्पर्धाका कारण पनि यो घटना सिर्जित भएको हुनसक्ने ठानिएको छ ।

यता पिक प्रमोशनका आङबावुले भने यी आरोपहरुमा सत्यता नभएको बताएका छन् । ग्लोब नेपालसँग टेलिफोनमा कुरा गर्दे शेर्पाले निर्मल पूर्जालाई थप डोरी लिएर जान मात्र भनेकोमा उनले आफू भाइरल हुन भिडियो रेकर्ड गरेको बताए । ‘म निर्मल पूर्जालाई राम्रो सँग चिन्दिन्, डोरी काटिएको भन्दा पनि बाल्कोनी भन्दा माथिको भागमा डोरी देखिएन भनेको हो, उनले भिडियो रेकर्ड गरेर हाल्छन् भन्ने लागेको थिएन । मैले नकारात्मक सन्देश फैलाउन खोजेको होइन । हामीले राम्रो काम गरेको देखेर अन्य एजेन्सीहरु हामीलाई वदनाम गर्न लागेका छन्’, शेर्पाले भने । तर पूर्जासँगको संवादमा भने उनले डोरी काटेको र आफ्नो हिमाल सफाई टोली फर्किएको स्पष्ट बताएका छन् ।

यो हल्ला फैलाउनुको पछाडी जसको जेजस्तो स्वार्थ भए पनि कतारको महारानीबाट सगरमाथाको सफल आरोहण हुन सकेको भए त्यसबाट नेपालको पर्वतीय पर्यटनमा पुग्न सक्ने ठूलो लाभ भने गुमाएको पर्यटन व्यवसायीहरू बताउँछन् ।

भिडियामा हेर्नुस पूर्जाको सन्देश

https://www.facebook.com/share/v/qmRKajoLBkMUW5Vu/?mibextid=WC7FNe