मधेशमा सरोज यादवले पाएनन् विश्वासको मत

मधेशमा सरोज यादवले पाएनन् विश्वासको मत


ग्लोब नेपाल
216
Shares

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश सभामा विश्वासको मत पाउन असफल भएका छन् । मुख्यमन्त्री यादवले प्रदेश सभामा विश्वासको मत पाउँ भन्ने प्रस्ताव राखेका थिए । उनको प्रस्तावलाई प्रदेश सभाले अस्वीकृत गरेको छ ।

सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री यादवले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित नभएको घोषणा गरे । उनले मुख्यमन्त्रीमाथि विश्वास रहेको भन्दै पक्षमा ५० र विश्वास नरहेको भन्दै विपक्षमा ५३ मत परेको बताए । उनका अनुसार कूल १०३ सांसद बैठकमा उपस्थित थिए ।

जसपा नेपालका दलका नेता समेत रहेका मुख्यमन्त्री यादवलाई जसपा नेपाल, नेपाली काँग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएका छन् ।

गत वैशाख ३० मा नेकपा एमाले र नेकपा माओवादी केन्द्र तथा जेष्ठ २२ मा नेकपा एसले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएको थियो । त्यसअघि उनको दल जसपा नेपाल विभाजन भएकोले आजै विश्वासको मत लिनुपरेको छ ।

यादव ०७९ पौष २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गठबन्धन हेरफेरका कारण चार पटकसम्म विश्वासको मत पाएका उनी पाँचौँ पटकमा असफल बनेका छन् ।