मधेशका नवनियुक्त मुख्यमन्त्री सिंहले लिए शपथ

मधेशका नवनियुक्त मुख्यमन्त्री सिंहले लिए शपथ

१४ सदस्यीय मन्त्रिपरिषद् गठन



जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले शपथ लिएका छन् । शुक्रबार मध्याह्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट सिंहले शपथ लिएका हुन् ।

जनमत पार्टीका सांसद सिंह आज बिहान मात्रै संविधानको धारा १६८ को उपधारा २ बमोजिम सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् ।

सिंहले जनमतका साथै, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

मुख्यमन्त्री सिंहसँगै नवनियुक्त मन्त्रीहरूले पनि शपथ लिएका छन् । अर्थमन्त्रीमा भरतप्रसाद शाह, उद्योग, वाणिज्य र पर्यटनमन्त्रीमा युवराज भट्टराई, भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, भूमि व्यवस्थामन्त्रीमा गोविन्दबहादुर न्यौपाने, शिक्षामन्त्रीमा राजकुमार लेखीले शपथ लिएका हुन् ।

त्यस्तै, स्वास्थ्यमन्त्रीमा शत्रुघनप्रसाद सिंह, ऊर्जामन्त्रीमा बेची लुङ्गेली, खेलकुदमन्त्रीमा प्रमोदकुमार जयसवालले शपथ लिएका छन् भने गृह, सञ्चार तथा कानुनमन्त्रीमा विमला अंसारी, श्रम तथा यातायातमन्त्रीमा उर्मिला चौधरीले शपथ लिएका छन् । वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्रीले नै सम्हाल्ने छन् ।

जसपा नेपालका तर्फबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवले बुधबार प्रदेश सभामा विश्वासको मत गुमाएका थिए ।

प्रदेश प्रमुख भण्डारीले बुधबार नै नयाँ सरकार गठनका लागि बहुमतसहित दाबी पेस गर्न आज बिहान १० बजेसम्मको समय दिएकी थिइन् ।

सिंह सप्तरी निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित भएका हुन् । यसअघि उनी २०७४ को स्थानीय तह निर्वाचनमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष निर्वाचित भएका थिए । त्यसपछि २०७९ मा भएको स्थानीय तह निर्वाचनमा सोही गाउँपालिका अध्यक्षमा पराजित भएपछि सोही वर्षको आम निर्वाचनमा जनमतबाट उम्मेदवार भई प्रदेशसभा सदस्य भएका थिए ।