एनआरएनए जर्मनीले राष्ट्रपति पौडेलको अभिनन्दन गर्ने

एनआरएनए जर्मनीले राष्ट्रपति पौडेलको अभिनन्दन गर्ने



काठमाडौं । स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलको एनआरएनए जर्मनीले भव्य अभिनन्दन गर्ने तयारी गरेको छ । राष्ट्रपति पौडेल असार १ गते स्वीट्जरल्याण्डबाट जर्मनी जाने कार्यक्रम छ । असार २ गते अर्थात् जुन १६ मा राजदूत निवासमा आयोजना हुने कार्यक्रममा राष्ट्रपति पौडेलको अभिनन्दन गरिने कार्यक्रम समन्वयनकर्ता तथा एनआरएनए पूर्वअध्यक्ष विजय मोक्तानले जानकारी दिए ।

सन् २००६ मा गैरआवासीय नेपालीलाई एनआरएनए कार्ड दिने अवधारणा तत्कालीन समयमा पौडेलले नै अगाडि बढाएको र गैरआवासीय नेपालीले प्राप्त गरेको नागरिकता ऐनमा लालमोहर लगाएको हुनाले राष्ट्रपति पौडेललाई अभिनन्दन गर्न लागिएको एनआरएनए जर्मनीका संस्थापक अध्यक्ष दिल गुरुङले बताए ।

राष्ट्रपति पौडेलको अभिनन्दन राजदूत निवासमा राखिएको रहेछ, त्यति ठूलो कार्यक्रमका लागि ठाउँ पुग्छ त ? भन्ने ग्लोब नेपालको प्रश्नमा संस्थापक अध्यक्ष गुरुङले भने, ‘डेढ रोपनीमा फैलिएको गार्डेनमा २५–३० वटा डिनर टेबलसहित करिब डेढ सय मान्छे अटाउने प्रशस्त ठाउँ छ । सानो ठाउँमा कार्यक्रम गर्न लागियो भनेको सुनेँ, त्योे सत्य होइन ।’

साँझ आयोजना गरिने रिसेप्सनमा पाँच तारे होटल स्ट्याण्डरको खानाको व्यवस्थापन आफूले गर्न लागेको पनि गुरुङले जानकारी दिए । उनले खानाको दशवटा परिकार पनि तय गरिसकेका छन् । जर्मनीका चल्तापूर्जा रेष्टुरेन्ट व्यवसायी गुरुङ तीन दशकभन्दा बढी समयदेखि जर्मनीमा बसोबास गरिरहेका छन् ।

राष्ट्रपति पौडेलको अभिनन्दनका लागि सम्पूर्ण तयारी पूरा भएको एनआरएनए अध्यक्ष निनाम्मा राईले जानकारी दिइन् । अभिनन्दन कार्यक्रममा कुनै विवाद नरहेको उनले स्पष्ट पारिन् । उनले भनिन्, ‘हामी राष्ट्रपति पौडेलको भव्य अभिनन्दन गर्दैछौं । राष्ट्रप्रमुख भएर मात्र होइन, उहाँले गैरआवासीय नेपालीलाई लगाएको गुणस्वरुप अभिनन्दन गर्न लागेका हौं ।’

स्वागत कार्यक्रम कहाँ राख्ने र कस–कसलाई भेट दिने जस्ता विषयमा विवाद भएको हो ? भन्ने ग्लोब नेपालको प्रश्नमा अध्यक्ष राईले भनिन्, ‘यो हल्ला मात्र हो, त्यस्तो कुनै विवाद छैन । प्रोटोकलको कुरा हुन्छ, सुरक्षा लगायतका विविध कारणले राजदूत निवासमा कार्यक्रम राखिएको हो । आफ्नो देशको राष्ट्र प्रमुखको स्वागत तथा सम्मान गर्ने कार्यमा एनआरएनए जर्मनीले कुनै कमजोरी गर्ने छैन ।’

राष्ट्रपति पौडेल आज सोमबार साँझ स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान गर्ने कार्यक्रम छ । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी जेनेभा गएका हुन् । यही जेठ ३१ गते सम्मेलन उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।