राष्ट्रपति फर्किएलगत्तै मन्त्रिमण्डल हेरफेर गर्ने प्रधानमन्त्री दाहालको तयारी

राष्ट्रपति फर्किएलगत्तै मन्त्रिमण्डल हेरफेर गर्ने प्रधानमन्त्री दाहालको तयारी


ग्लोब नेपाल
4.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युरोप भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल फर्किएपछि मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन् । राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्किदै छन् ।

सत्ता साझेदार दलसँग भएको सहमति कार्यान्वयन भयो भने असारको दोस्रो साता बजेट पास गर्ने र त्यसपछि मन्त्रिमण्डल हेरफेर गर्ने तयारी प्रधानमन्त्री दाहालको छ । त्यसका लागि प्रधानमन्त्रीले सत्ता साझेदार दलहरूसँग छलफल जारी राखेका छन् ।

प्रधानमन्त्री दाहालले नागरिक उन्मुक्ति पार्टी र जनमतलाई समेटेर मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेको बताइएको छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार ‘अहिले राष्ट्रपति स्वदेशमा हुनुहुन्न । उहाँ फर्केलगत्तै मन्त्रिमण्डल पुनर्गठन गर्ने सोचमा प्रधानमन्त्री हुनुहुन्छ, असार ७ पछि असार दोस्रो साता पुनर्गठन हुनसक्छ ।’ हाल सरकारमा एमाले, माओवादी, एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी सहभागी रहेका छन् ।

अबको मन्त्रिमण्डल हेरफेर र विस्तारमा हालका केही मन्त्री हटाएर मन्त्रालय खाली गर्ने र नयाँलाई समेट्ने तयारी भइरहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । यसो गर्दा माओवादी केन्द्र र एमालेका एक–एक जना मन्त्री फिर्ता गर्नुपर्ने हुन्छ ।

त्यसका लागि प्रधानमन्त्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्दा अध्यक्ष ओलीले बजेट पास भएपछि मात्र मन्त्रिमण्डल हेरफेर र पुनर्गठन गर्न सकिने भनेर सहमति दिएको बुझिएको बताइएको छ ।

दुई नेताबिच भएको सहमति अनुसार माओवादीबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका हितराज तामाङ र एमालेबाट भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई फिर्ता बोलाउने तयारी गरीएको उच्च स्रोतले जानकारी दिएको छ । मन्त्रिमण्डल पुनर्गठनमा नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ नै सरकारमा जाने तयारीमा रहेको बुझिएको छ ।

श्रेष्ठले पर्यटन मन्त्रालय आफूले पाउने गरी प्रधानमन्त्रीसँग छलफल भएको स्वीकार गरिन् । ‘मसँग भएको छलफलमा पर्यटन मन्त्रालय हामीलाई दिने कुरा भएको छ’, श्रेष्ठले भनिन्, ‘असार ७ पछि मन्त्रिमण्डल पुनर्गठन हुने सूचना छ ।’ उनले अहिले राष्ट्रपति स्वदेश फर्के लगत्तै मन्त्रिमण्डल पुनर्गठन हुने विश्वास व्यक्त गरिन् । कृषि मन्त्रालय पाए जनमत पार्टीका अध्यक्ष सीके राउत नै मन्त्री बन्नसक्ने बताइएको छ । भूमिसुधार मन्त्रालयको जिम्मेवारी पाए पार्टी सचिव तथा सांसद अनिता साहलाई पठाउने तयारी भएको बुझिएको छ । अनिताको विकल्पमा पार्टी उपाध्यक्ष अब्दुल खानलाई तयार पारिएको समाचारस्रोतको भनाइ छ ।

‘राष्ट्रपति फर्केपछि शपथ लिने भन्ने कुरा भएको छ’, श्रेष्ठको भनाइ छ । राष्ट्रपति रामचन्द्र पौडेल स्वीटजरल्याण्ड हुँदै हाल जर्मनी भ्रमणमा रहेका छन् । राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।