पाेखरा । कास्की र स्याङ्जा कास्कीको पोखरामा जारी गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज समूह ‘बी’ को अन्तिम खेलमा नवलपुरलाई दुई विकेटले पराजित गर्दै स्याङ्जा फाइनलमा पुगेको हो । समूह चरणका तीनवटै खेल जितेको स्याङ्जाले ६ अङ्कसहित समूहको शीर्ष स्थानमा रहेर कास्कीसँगको फाइनल भेट पक्का गर्न सफल भयो ।
घरेलु टोली कास्की समूह ‘ए’ को विजेता बन्दै यसअघिनै फाइनल पुगिसकेको छ । प्रतियोगिताको फाइनल खेल बिहीबार हुने आयोजकले जनाएको छ । स्याङ्जासँगको खेलमा टस जितेर सुरुआतमा ब्याटिङ रोजेको नवलपुरले १७ ओभरमा सीमित गरिएको खेलमा १५ दशमलव चार ओभरमा सबै विकेट गुमाएर ७५ रनमा समेटियो ।
नवलपुरका लागि रिजन काफ्लेले ४५ बलमा ३० रन, कमल परियारले २२ बलमा १८ तथा सुदिप अर्यालले १२ रनको योगदान दिए । बलिङतर्फ स्याङजा ‘प्लेयर अफ दी म्याच’समेत रहेका सन्दिप खत्री क्षेत्रीले दुई तथा अङ्कित न्यौपानेले दुई विकेट लिए ।
खेलमा ७६ रनको लक्ष्य पछ्याएको स्याङजालाई जितका लागि अन्तिम ओभर कुर्नुप¥र्यो । स्याङजाले १६ ओभरको दोस्रो बलमा आठ विकेटको क्षतिमा ७९ रन बनायो । स्याङजाका लागि अनिष ताम्राकारले १५ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै २२ रनको योगदान दिए । त्यस्तै इश्वर क्षेत्रीले २९ बलमा २१ तथा प्रदिप पाण्डेले अविजित ११ रन बनाए ।
बलिङतर्फ नवलपुरका लागि कमल परियारले चार ओभरमा एक मेडन राख्दै १२ रन खर्चेर तीन विकेट लिए । दीपक डुम्रेले तीन ओभरमा एक मेडनसहित ६ रन दिएर दुई विकेट लिए । गण्डकी प्रदेश खेलकुुद परिषद्को आयोजना तथा प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा गत जेठ ३२ गतेदेखि उक्त प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताको विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पाउनेछन् । प्रतियोगितामा आठ जिल्लाको सहभागिता रहेको छ । प्रतियोगिताबाट कर्णाली प्रदेशमा हुने दशौँं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टोली छनोट गरिने प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।
प्रतिक्रिया