पर्वतकाे शालिजाका किसानले तरकारी बेचेर एक वर्षमा ५ करोड आम्दानी गरे

पर्वतकाे शालिजाका किसानले तरकारी बेचेर एक वर्षमा ५ करोड आम्दानी गरे



पर्वत । पर्वतको जलजला गाउँपालिका वडा नम्बर ६ शालिजाका किसानले तरकारी बेचेर एक वर्षमा पाँच करोडभन्दा बढी रकम भित्र्याएका छन् । जिल्लाको सबैभन्दा उच्च भेगमा रहेको शालिजाका धेरैजसो किसानले व्यावसायिक रूपमा तरकारीखेती गर्दै आएका छन् ।

कृषि ज्ञान केन्द्रमार्फत सागसब्जी उत्पादनको पकेट क्षेत्रका रूपमा विकास गरिएको शालिजामा मौसमीभन्दा बेमौसमी सागसब्जी बढी उत्पादन हुने भएकाले किसानको आम्दानी बढेको हो ।

शालिजामा उत्पादन भएको आलु, काउली, बन्दागोभी, बोडी, सिमी, लौका, डल्ले खुर्सानी, काँक्रोलगायत ताजा सागसब्जी छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनी, पर्वतको कुश्मा, बाग्लुङ बजार र पोखरासम्म बिक्री हुने गरेको स्थानीय किसान बुद्धि सुवेदीले जानकारी दिए ।

शालिजाका आठ सय परिवार तरकारी खेतीमा संलग्न भएका जिल्ला कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।