विश्व बैंकको आर्थिक सहयोगमा पोखरामा सडक स्तरोन्नति हुने

विश्व बैंकको आर्थिक सहयोगमा पोखरामा सडक स्तरोन्नति हुने



पाेखरा । विश्व बैंकको आर्थिक सहयोगमा पोखरामा सडक स्तरोन्नति हुने भएको छ । पोखरा महानरपालिका–१७ दोबिल्लाबाट शुरु भएर बाघमारा–तिक्लाङ–बडहरकोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुँडीटार–झिगटे, तगारेगौडा–तल्लो गगनगौडाँसम्मको सडक स्तरोन्नतिका लागि सम्झौता भएको हो ।

पोखरामा निर्माण हुने यस सडक विश्व बैंकको लगानीमा बन्न लागेको तेस्रो परियोजना हो । सडकको स्तरोन्नतिका लागि पोखरा महानगरपालिका र निर्माण कम्पनी आशिष निर्माण सेवा प्राली भरतपुरबीच सम्झौता भइसकेको छ । सडक तीन सय ९० दिनमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

विश्व बैंकको ७७ करोड ६८ लाख ९२ हजार आठ सय रुपैयाँ लागत सहयोगमा दुई वटा खण्डमा सडक निर्माण हुने पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले जानकारी दिनुभयो । उहाँका अनुसार परियोजनाअन्तर्गत १२ किलोमिटर ४४ मिटर सुविधा सम्पन्न सडक निर्माण हुनेछ ।

पोखरा महानगरमा विश्व बैंकको सहयोगमा यसअघि तालचोक–बेगनास सडक र शिशुवा–सिसाघाट सडक निर्माण दुई परियोजना सञ्चालनमा छन् । दोबिल्लाबाट वडा कार्यालयसम्मको बाटो सडक विभागले निर्माण गरिरहेको छ ।