काठमाडौं महानगरपालिकाकाे बजेट २५ अर्ब ७० करोड

काठमाडौं महानगरपालिकाकाे बजेट २५ अर्ब ७० करोड



काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रूपैयाँको बजेट ल्याएको छ । सोमबार उपमेयर सुनिता डंगोलले १५औं नगरसभामा बजेट पेश गरेकी हुन् ।

डंगोलले ३० वटा स्वर्णिम योजनाका लागि २ अर्ब बजेट विनियोजन गरेको पनि बजेट पेश गर्दै जानकारी गराइन् । यसैगरी महानगरले आगामी आर्थिक वर्षका लागि ११ वटा गौरवका योजना पनि अगाडि सारेको छ ।

त्यसका लागि ३ अर्ब बजेट विनियोजन गरिएको उपप्रमुख डंगोलले बताइन् । चालु आर्थिक वर्ष २०८०/०८१ का लागि महानगरले २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो ।

स्थानीय स्रोत र साधनलाई समन्यायिक ढंगले परिचालन गरेर गरिबी निवारण गर्ने, समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने, समाजिक सदभाव र एकता अभिवृद्धिमा सघाउ पुर्‍याउने र स्वरोजगार बनाइ विदेशीने दर घटाउनेलगायतका विषयलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको उपमेयर डंगोलले बताइन् ।

पूर्वाधार विकासमा लागि १४ अर्बभन्दा बढी रकम छुट्याइएको छ । सामाजिक विकासका लागि ३ अर्बभन्दा बढी छुट्याइएको छ भने सुशासनका लागि १ अर्ब ८९ करोड भन्दा बढी छुट्याइएको छ ।

सञ्चितकोषमा २४ अर्ब २० करोड आम्दानी हुने अनुमान गरिएको छ ।