काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरुले नेपालको कम्युनिष्ट आन्दोलनमा विद्रोहको आँट गरेको बताएका छन् । मंगलबार राष्ट्रिय जन सांस्कृतिक महासंघ समाजवादीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकीकृत समाजवादीले कम्युनिष्ट आन्दोलनमा देखापरेका विकृति र विसंगतिका विरुद्धमा विद्रोहको ज्वाल दन्काएको बताए ।
‘नेपालको कम्युनिष्ट आन्दोलनमा हामीले जुन पहल गरेका छौं, विद्रोह गर्ने आँट गरेका छौं । कम्युनिष्ट आन्दोलनमा देखापरेका विकृति र विसंगतिका विरुद्धमा विद्रोहको ज्वाला दन्काएका छौं । एक्लै भएपनि अगाडि बढ्ने हिम्मत गरेका छौं,’ उनले भने ।
आफूहरु एक्ला–एक्लै भएपनि अगाडि बढ्ने हिम्मत गर्दा अहिले एकीकृत समाजवादीले वडा–वडासम्म संगठन, जनसंगठनहरु निर्माण गरेको पनि उनले सुनाए । ंअध्यक्ष नेपालले देश व्यापी रुपमा सांस्कृतिक अभियान सञ्चालन गर्न निर्देशन दिए ।
उनले एकीकृत समाजवादीले राष्ट्रिय राजनीति र अन्तराष्ट्रिय राजनीतिका सबै शक्तिहरुलाई राम्रोसँग चिनेको दाबी गरे । उनले समाजवादको यात्रामा नेपालका दलहरुभन्दा एकीकृत समाजवादी पार्टी अगुवा रहेको पनि ठोकुवा गरे ।
उनले भने, ‘राष्ट्रिय राजनीतिका सबै शक्तिहरुलाई रामू्रोसँग चिनेका छौं । अन्तराष्ट्रिय राजनीतिका पनि प्रत्येक शक्तिहरुलाई हामीले बुझेका छौं । यस अर्थमा हामीले समाजवादी क्रान्तिको जुन कार्यक्रम, हाम्रो पार्टीले यही समाजवादको यात्रालाई अघि बढाउनका लागि अगाडि सारेको छ ।’


प्रतिक्रिया