सिधा कुराका अध्यक्ष र सम्पादकसहित तीन जनाविरूद्ध साइबर अपराधमा मुद्दा

सिधा कुराका अध्यक्ष र सम्पादकसहित तीन जनाविरूद्ध साइबर अपराधमा मुद्दा



काठमाडौं । सिधाकुरा डटकमको ‘द डार्क फाइल’ श्रृंखलामा प्रकाशित सामग्रीविरुद्ध साइबर अपराधमा मुद्दा चलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

सिधा कुरा डटकमका अध्यक्ष र सम्पादकसहित तीन जनाविरूद्ध मुद्दा दायर भएको छ । अध्यक्ष तथा प्रस्तोता युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना र राजकुमार तिमल्सीनाविरूद्ध मुद्दा दायर भएको हो ।

सिधाकुराले डार्क फाइल भन्दै अडिओसहित समाचार प्रकाशन गरेको थियो । उक्त अडिओ तिमल्सीनाले उपलब्ध गराएको भनिएको थियो ।

तीनै जनालाई फरार प्रतिवादी बनाएर मुद्दा अदालतमा पेस भएको छ ।

सर्वोच्च अदालतले वैशाख २३ गते आदेश गरेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले डार्क फाइलको अडिओ प्रकरणमा छानबिन गरेको थियो ।

सिधाकुरा डटकमले अख्तियारले आफ्नै पैसा दिएर गर्दै आएका ‘स्टिङ अप्रेसन’का मुद्दा मिलाउन सर्वोच्च अदालतका न्यायाधीशसमेतको मिलेमतोमा ‘डिल’ भएको भन्दै ‘द डार्क फाइल’ श्रृंखला प्रसारित/प्रकाशित गरेको थियो ।

अन्नपूर्णपोष्टको तीनकुनेस्थित कार्यालयमा भएको ‘डिल’ भन्दै प्रशारित अडियो सर्वोच्चमा अवहेलना मुद्दा चलाएसँगै नेपाल प्रहरीको विधिविज्ञान प्रयोशालामा परीक्षणका लागि पठाइएको थियो । प्रहरीले फरेन्सिक जाँच गर्दा अडियो ‘फेक’ भेटिएपछि उनीहरूविरुद्ध मुद्दा चलाइएको हो ।