काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादी शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई लिएर आफ्नो जन्मभूमि झुप्रा खोला पुगेकी छन् ।
बाल्यकालमा बालुवा-गिट्टी कुटेर सङ्घर्षपूर्ण जीवन बिताएकी मन्त्री बादीले शनिबार साँझ स्थानीय समुदायका समस्या र आवश्यकताबारे शिक्षामन्त्री पोखरेललाई प्रत्यक्ष जानकारी गराएकी हुन् ।
स्थानीयसँगको छलफलमा विद्युत्, खानेपानी, शिक्षा, रोजगारी, बस्ती व्यवस्थापन र आधारभूत पूर्वाधारका समस्या उठेका थिए । बालुवा-गिट्टी कुट्ने पेसा बन्द भएपछि आम्दानीको मुख्य स्रोत गुमेको र वैकल्पिक रोजगारीको अभावमा जीवनयापन कठिन बनेको स्थानीयले बताएका थिए ।
जन्मदर्ता नहुँदा बादी समुदायका १५ जना बालबालिकाको शिक्षामा पहुँच प्रभावित भएको विषयमा मन्त्री बादीले शिक्षामन्त्री पोखरेलको ध्यानाकर्षण गराएकी थिइन् । मन्त्री पोखरेलले ती बालबालिकाको शिक्षामा सहज पहुँच सुनिश्चित गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।
मन्त्री बादीले स्थानीय महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन छिट्टै सीपमूलक तालिम सञ्चालन गर्ने जानकारी दिइन् । तालिमलाई स्वरोजगार र दिगो आयआर्जनसँग जोड्ने उनको भनाइ थियो ।
आफ्नो बाल्यकालको सङ्घर्ष स्मरण गर्दै मन्त्री बादीले जनताको जीवनसँग जोडिएमा मात्र सत्ता र जिम्मेवारीको वास्तविक अर्थ स्थापित हुने बताइन् । उनले समुदायका हरेक बालबालिकाले शिक्षा पाउने र प्रत्येक परिवारले सम्मानपूर्वक बाँच्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन् ।स्थानीयका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गर्ने उनले बताइन् ।
भ्रमणमा प्रधानमन्त्रीका मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र प्रतिनिधिसभा सदस्य तारा विश्वकर्माको समेत उपस्थिति थियो ।


प्रतिक्रिया