एसईईमा एनजी ल्याउने सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने

एसईईमा एनजी ल्याउने सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने



काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा एसईईमा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीहरुलाई पनि मौका परीक्षा दिन पाउने निर्णय गरेको छ ।

शुक्रबार मन्त्रालयले दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने निर्णय हाे ।

एनजी आएका कुनै विद्यार्थीले मौका परीक्षा दिएर कक्षा ११ पढ्ने चाहाना राख्छन् भने उनीहरुले मौका परीक्षा दिन पाउन् भनेर मन्त्रीस्तरीय निर्णयबाट यो मौका दिइएकाे बताइएकाे छ ।

एनजी ल्याएका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउन लेटर ग्रेडिङ निर्देशिका– २०७८ संशोधन गर्ने प्रकृया अगाडि बढाउन पाठ्यक्रम विकास केन्द्र, परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा सञ्चालन व्यवस्थापन गर्न र शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आवश्यक कक्षा सञ्चालन तथा सिकाइ सहजीकरण गर्न विद्यालय तथा सरोकार निकायलाई निर्देशन दिने निर्णय समेत गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार २ लाख ४२ हजार ३१३ जना विद्यार्थी नन ग्रेड (एनजी)मा परेका छन् । यो संख्या परीक्षामा सहभागी ४ लाख ६४ हजार ७८५ विद्यार्थीको ५२.१४ प्रतिशत हो ।

ठूलो संख्याका विद्यार्थीले मौका परीक्षामा सहभागी हुन नपाउने भएपछि मन्त्रालयले दोस्रो पटक निर्देशिका संशोधन गर्ने र सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको हो ।