युरोकपमा आज इङल्याण्ड र स्लोभाकिया, स्पेन र जर्जिया खेल्दै

युरोकपमा आज इङल्याण्ड र स्लोभाकिया, स्पेन र जर्जिया खेल्दै



काठमाडौँ । जारी युरोकप अन्तर्गत आज इङल्याण्ड र स्लोभाकियाबीच खेल हुदै छ । नेपाली समय अनुसार यो खेल राति ९: ४५ बजेदेखि शुरु हुदै छ ।

इङल्याण्ड समुह सी मा शिर्ष स्थानमा रहदै नक आउट चरणमा पुगेको हो । इङल्याण्डले एक खेल जितेको थियो भने २ खेलमा बराबरी खेलेको थियो । इङल्याण्डले पहिलो खेलमा सर्बियालाई १-० गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा डेनमार्कसँग १-१ गोलको र तेस्रो खेलमा स्लोभेनियासँग गोलरहित बराबरी खेलेको थियो ।

त्यस्तै स्लोभाकिया समुह इ मा तेस्रो स्थानमा रहेर नक आउटमा पुगेको हो । स्लोभाकियाले समुह चरणका ३ खेल मध्ये एक खेलमा जित, एक बराबरी र एक हर बेहोरेको थियो । स्लोभाकियाले पहिलो खेलमा बेल्जियमलाई हराएको थियो । त्यस्तै दोस्रो खेलमा युक्रेनसँग २-१ गोलले पराजित भएको थियो भने तेस्रो खेलमा रोमानियासँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।

इङल्याण्ड र स्लोभाकियाबीच अहिलेसम्म ६ खेल भएको छ । जसमा इङल्याण्डले ५ खेल जितेको छ भने एक खेल बराबरी भएको थियो । इङल्याण्डले अहिलेसम्म युरोकपको उपाधि जित्न सकेको छैन भने अघिल्लो युरोकपको उपविजेता बनेको थियो ।

त्यस्तै स्लोभाकिया यस अघि २०१६ को युरोकपमा नक आउटमा पुगेको थियो भने यो सहित दोस्रो पटक  नक आउटमा पुगेको छ ।
 

त्यसैगरी जारी युरोकप अन्तर्गत आज स्पेन र जर्जियाबीच खेल हुदै छ । यो खेल नेपाली समय अनुसार राति १२; ४५ बजे देखि शुरु हुदै छ ।

समुह बी मा रहेको स्पेनले समुह चरणका सबै खेल जितेर ९ अंकसहित शिर्ष स्थानमा रहेर नक आउट चरणमा पुगेको छ । त्यस्तै जर्जियाले समुह चरणमा ३ खेलमा ४ अंक हासिल गरेर तेस्रो हुदै नक आउट चरणमा पुगेको छ ।

स्पेनले समुह चरणको पहिलो खेलमा क्रोसियालाई ३-० ले, दोस्रो खेलमा इटालीलाई १-० ले र तेस्रो खेलमा अल्बानियालाई १-० ले पराजित गरेको थियो । त्यस्तै जर्जिया पहिलो खेलमा टर्कीसँग ३-१ ले पराजित भएको थियो भने दोस्रो खेलमा चेक रिपब्लिकसँग १-१ गोलको बराबरी खेलेको थियो । त्यस्तै तेस्रो तथा अन्तिम खेलमा पोर्चुगललाई २-० ले पराजित गरेको थियो ।

स्पेनले अहिलेसम्म तीन पटक युरोकपको उपाधि जितेको छ । स्पेनले १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो । त्यस्तै स्पेन १९८४ मा उपविजेता बनेको थियो । रको तर्फ जर्जिया भने पहिलो पटक युरोकप खेलिरहेको छ र नकआउट चरणमा पुगेको छ ।