रसुवागढीमा तीन वटा भाषाको ‘साइनबोर्ड’ प्रयोगमा

रसुवागढीमा तीन वटा भाषाको ‘साइनबोर्ड’ प्रयोगमा



रसुवा । आन्तरिक तथा बाह्य पर्यटकको यात्रालाई सहज बनाउन रसुवागढीमा रहेको अध्यागमन कार्यालयले तीन वटा भाषाको ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको छ । कार्यालय प्रमुख मुरारी निरौलाले नेपाली, चिनियाँ र अङ्ग्रेजी भाषामा ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको जानकारी दिए । उनले ‘साइनबोर्ड’ ले पर्यटकको आवागनमा थप सहज हुने बताए ।

कार्यालयका अनुसार चालू आर्थिक वर्षको साउनदेखि अहिलेसम्म एक हजार ७२ जनाले मानसरोवर, २२ जनाले ल्हासा, ४० जनाले ल्हासा र कैलाश दुवै ठाउँका लागि र पाँच जनाले गन्जाउलगायत अन्य ठाउँ जानका लागि अनुमति लिएका थिए ।

अध्यागमनले पर्यटकको रूपमा आवतजावत गर्नेको राहदानी अभिलेख राख्ने र रसुवाबासीका लागि केरुङसम्म जान आउन नेपाल–चीन सीमा क्षेत्रका बासिन्दालाई प्रदान गरिने स्थायी परिचयपत्रसमेत प्रदान गर्दै आएको छ ।