अग्रजहरूको अनुभव नयाँ पिँढीलाई आवश्यक छ : अध्यक्ष दाहाल

अग्रजहरूको अनुभव नयाँ पिँढीलाई आवश्यक छ : अध्यक्ष दाहाल



काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पूर्वसांसदहरूको अनुभव र क्षमता नयाँ पिँढीका सांसदलाई आवश्यक रहेको बताएका छन् । पूर्वसांसद मञ्च नेपालको २४औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष दाहालले मञ्च संसदीय अनुभवको कारखाना भएकाले नयाँ पिँढीका सांसदलाई आवश्यक रहेको धारणा राखे ।

संसद्को प्रभावकारिता बढाउन अग्रजहरूको अनुभव नयाँ पिँढीलाई प्रदान गर्नुपर्नेमा उनले जोड दिए । संविधान निर्माणको बेलामा मञ्चले खेलेको भूमिकाबारे चर्चा गर्दै उनले आगामी दिनमा मुलुकमा राजनीतिक जटिलता आएमा सकारात्मक परिणामका लागि अनुभवी तथा पुराना सांसदहरूको सक्रियता र सुझाव आवश्यक हुने बताए ।

नेपाली जनताको त्याग, तपस्या र बलिदानका कारण मुलुकले नयाँ संविधान पाएको चर्चा गर्दै अध्यक्ष दाहालले अहिलेको संविधानलाई केन्द्रमा राखेर सबै एकजुट भई अगाडि बढ्नुपर्ने धारणा राखे । दलीय आग्रहबाट माथि उठेर राष्ट्रसामु देखा परेका समस्या समाधानमा साझा धारणा बनाउने पूर्वसांसद मञ्चको कार्यशैलीबारे प्रशंसा गर्दै उनले समयानुकूल संस्थाको विश्वसनीयतालाई बढाउँदै लैजानुपर्नेमा जोड दिए ।

नेपालको छ दशक लामो संसदीय इतिहासमा राजनीतिक फेरबदल र उतारचढाव धेरै भएको उल्लेख गर्दै राष्ट्रियसभा अध्यक्ष दाहालले संसदीय इतिहासमा पूर्वसांसद मञ्च संसद्को परामर्शदातृ संस्थाका रूपमा रहेको बताए । अहिले पनि सङ्घीय संसद्का दुवै सदनले नियमावलीमा परामर्श सेवा दिने संस्थाका रूपमा मञ्चलाई लिएको उनको भनाइ छ । कार्यक्रममा पूर्वसभामुख तारानाथ रानाभाटसहित राष्ट्रियसभा र प्रतिनिधिसभाका पूर्वसदस्यहरूको सहभागिता थियो ।