यस्तो थियो प्रचण्ड र ओलीबीच बालुवाटारको बार्दली संवाद

यस्तो थियो प्रचण्ड र ओलीबीच बालुवाटारको बार्दली संवाद


ग्लोब नेपाल
945
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारको बार्दलीमा लामो छलफल भयो । १५ असारमा काँग्रेस सभापति शेरबहादुर देउवा पत्नीसहित ओलीनिवास बालकोट पुगेपछि उत्पन्न राजनीतिक सनसनीको पृष्ठभूमिमा प्रचण्ड–ओली भेट भएको थियो ।

बालुवाटारको बार्दलीमा दुई नेताबीच भएको छलफलबारे प्रधानमन्त्री प्रचण्डले पार्टी नेताहरुलाई बताएका थिए । ओलीसँगको भेटपछि प्रचण्ड सत्ता गठबन्धन संसदको यो कार्यकालभरि जानेमा ढुक्क देखिएका थिए । किनकी ओलीले प्रचण्डलाई कांग्रेससँग सत्ता गठबन्धन नगर्ने बाचा गरेका थिए ।

ओलीको विश्वासमा परेका प्रचण्ड सोमबारको मन्त्रिपरिषद बैठकमा आत्मविश्वासका साथ प्रस्तुत भए । उनले भनेका थिए, ‘बाहिर चलेका चर्चाहरु गलत हुन् । गठबन्धनमा कुनै समस्या छैन । पाँचै वर्ष जान्छ ।’ तर, उनले यसो भनिरहँदा एमाले र कांग्रेसका दोश्रो तहका नेता ललितपुरको झम्सीलेखस्थित एक होटलमा सत्ता गठबन्धनको मस्यौदालाई अन्तिम रुप दिइरहेका थिए ।

प्रचण्ड र ओलीबीच बालुवाटारको बार्दलीमा भएका संवादमा केही अंशः

प्रचण्डः शेरबहादुर देउवा र आरजु राणालाई बालकोट बोलाउनुभएछ, के कुरा भयो ?
ओलीः सामान्य कुराकानी भयो । आरजु रोपाईं कार्यक्रमका लागि भक्तपुरतिर आउँदै रहिछन् । म आउँछु भनेर फोन गरिन् । मैले देउवाजीलाई पनि लिएर आउनु भनेको थिएँ । खासै अरु कुरा भएन । सन्चो बिसन्चो पारिवारिक कुरा यस्तै भयो ।

प्रचण्डः तर, बाहिर त अरु कुरा सुनिएको छ ?
ओलीः बाहिर आएका कुरा होइनन् । असार १५ को दिन थियो । दही चिउरा खुवाएर पठाएँ ।

प्रचण्डः केही सहमति भएको भए भन्नुस् है । प्रधानमन्त्री चाहिएको भए मै दिन्छु । आखिर हाम्रोबीचमा आधाआधा हुने भन्ने सहमति भएकै छ ।
ओलीः अहिले म प्रधानमन्त्री बन्ने बेला भएको छैन । समय आएपछि भनौंला ।

प्रचण्डः सरकारको विषयमा तपाईं र एमालेकै नेताहरुको असन्तुष्टि सार्वजनिक रुपमै सुनिन्छ, यो बन्द गर्नुस् ।
ओलीः झोक्किँदै । किन ? के भनें र मैले ? नीति कार्यक्रम ल्याउँदा मलाई सोध्नुभएन । बजेट ल्याउँदा एकपटक सल्लाह लिने काम भएन । एकलौटी गर्नुभयो ।

प्रचण्डः कसरी यस्तो कुरा गर्न सक्नुहुन्छ तपाईं ? नीति कार्यक्रममा नेपालका पहिलो शहीद लखन थापा भन्ने राखेको थिएँ मैले । तपाईंले यो हटाउनुस् भन्नुभयो, मैले हटाएँ । जनयुद्ध शब्दमा आपत्ति जनाउनुभयो, त्यसको ठाउँमा पनि अरु नै लेखियो । अर्थमन्त्रीले बजेट वक्तव्य पढेर सुनाउने बेलामा आउनुस भन्दा आउँछु भनेर नआउने तपाईं नै होइन र ?
ओलीः धितोपत्र बोर्डको अध्यक्षमा मैले भनेको व्यक्तिलाई अध्यक्ष नियुक्त नगरी प्रक्रिया नै रद्ध गरियो । वर्षमान पुन (अर्थमन्त्री) ले मेरो बदनाम गर्दै हिंडे ।

प्रचण्डः धितोपत्र बोर्डको अध्यक्ष चयनको प्रक्रिया विवादमा परेकै हो । बाहिर बजारमा आर्थिक चलखेलदेखि धेरै कुराहरु भए । हामीले त आर्थिक चलखेल, लेनदेनको कुरा कतै गरेको पनि छैन । तर, हल्ला भयो । त्यसपछि मैले रोकेको हो । वर्षमानले होइन, यो कुरा स्पष्ट होओस् । मैले नै अर्थमन्त्रीलाई, योजना आयोगको उपाध्यक्षलाई आर्थिक चलेखल भयो भन्ने चर्चा चलेको छ । अहिले नगरौं भनेको हुँ ।
ओलीः मैले गरें चलखेल ?

प्रचण्डः मैले त्यसो भनें र ? बाहिर बजारमा चलेको चर्चाको बारेमा भनेको हुँ । तपाईंकै पार्टीबाट विगतमा अर्थमन्त्री भएका नेताहरुले नै भन्दै हिंडेका छन् । यसमा ठूलो पैसाको लेनदेन भएको छ भनेर ।
ओलीः अब के गर्ने ?

प्रचण्डः तपाईं नै भन्नुस् । काँग्रेससँग मिलेर सरकार बनाउने भए गए हुन्छ । मेरो आपत्ति छैन । देउवा र मेरो सहमतिमा सरकार चलेकै थियो । काँग्रेसबाट कुनै दबाब पनि थिएन मलाई । केही सानासाना समस्याबाहेक म त सजिलै प्रधानमन्त्री चलाइरहेको थिएँ । समस्या पनि समाधान गर्न नसकिने खालका थिएनन् । तर, तपाईंले भन्नुभयो । नेपालमा कम्युनिष्ट आन्दोलन पश्चिम बंगाल (भारत) को जस्तो हुने भयो । यही ताल हो भने अब आउने ०८४ को चुनावमा एमाले ४० सिट र माओवादी केन्द्र १५ सिटमा खुम्चिन्छ । हामी दुई मिलेर यो चुनौतीको सामना गरौं । कम्युनिष्ट आनदोलनलाई बचाऔं भन्ने तपाईं नै होइन ? मैले सोचें कुरा त ठीकै हो । तपाईंमा रियलाइजेशन आएछ भन्ने ठानें । तर, होइन रहेछ भन्ने अहिले आएर थाहा भयो ।

ओलीः ती कुरा मैले भनेको हुँ । अहिले पनि मिलेर जान सकिने ठाउँ छ । गठबन्धनलाई निरन्तरता दिऔं । ०८४ मा मिलेर चुनावमा जाऔं । अब म भन्न चाहन्छु । हामी स्वर्गमा भए पनि, नर्कमा भए पनि सँगै हुन्छौं । यति भनेपछि दुवैले मुठ्ठी कसेर एकअर्कामा अभिवादन गरे र बैठक सकियो ।

(श्रोतः प्रधानमन्त्रीको निजी सचिवालयका सदस्य र नेताहरुसँगको कुराकानीमा आधारित)