म्याग्दीको रघुगङ्गा पाखापानीमा चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण

म्याग्दीको रघुगङ्गा पाखापानीमा चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण



म्याग्दी । रघुगङ्गा गाउँपालिका–६ पाखापानीमा चन्दा जुटाएर खेलमैदान निर्माण भएको छ । स्थानीयवासीन्दा, प्रवासी र गाउँपालिकाको सहयोगमा स्टार स्पोर्टस् क्लबले खेलमैदान निर्माण गरेको हो ।

कुल ४३ लाख ७७ हजारको लगानीमा निर्माण भएको खेलमैदानका लागि ३५ लाख रुपैयाँभन्दा धेरै प्रवासी र स्थानीयवासीन्दाले चन्दा सहयोग गरेका क्लबका अध्यक्ष केशव पाइजाले बताउनुभयो ।

पाखापानीको खेलमैदानमा भलिबल, बास्केटबल र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिन्छ । स्थानीयबासीन्दाले नै उपलब्ध गराएको पाखोबारी सम्याएर ढलानसहितको खेलमैदान निर्माण गरिएको हो । रघुगङ्गा गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/८१ मा सात लाख ४७ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको थियो ।