बिमा रकम ठगी गर्न आफ्नै पसलमा लुटपाट !

बिमा रकम ठगी गर्न आफ्नै पसलमा लुटपाट !


ग्लोब नेपाल
81
Shares

चितवन । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ खोलेसिमल बजारमा बीमा रकम प्राप्त गर्ने उद्देश्यले आफ्नै पसलमा चोरी गर्न लगाई स्थानीयलाई झुक्याएको आरोपमा विनोराद सुन चाँदी पसलका सञ्चालक विनोद सुनारसहित पाँच जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सिविआईको सहयोगमा अप्रेशन धनानन्द नाममा १८ दिनमा लुटेरा मालिक आफैंलाई पक्राउ गर्न सफल भएको हो ।

सुनारले गत असार १ गते आफ्नो पसलमा चोरी भएको र पसलबाट अज्ञात दुई जना व्यक्तिहरु नम्बर नखुलेको मोटरसाईकल चढेर आई हतियार देखाई दुई करोड सत्र लाख चौबन्न हजार चार सय पन्ध्र रुपैयाँ बराबरको सुनचाँदी र हिराको विभिन्न डिजाईनका गरगहनाहरू लुटपाट गरी लगेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

प्रहरीले मुख्य योजनाकार सुनारसहित बिनोद सुन चाँदी पसलका म्यानेजर (चोरी गर्न सहयोग गर्ने) कालिका नगरपालिका वडा नं. ७ का विजय विश्वकर्मा, चोरी गर्ने व्यक्ति तनहुँ, म्याग्दी गापा वडा नं. ०७ का पुर्ण बहादुर विश्वकर्मा, अर्का चोरी गर्ने व्यक्ति बारा बारागढी नपा वडा नं. ०४ का पवन कुमार पासवान र विनोद सुन चाँदी पसलका संचालक विनोद सुनारका साथी (चोरी गरेको धनमाल लुकाउन सहयोग गर्ने) कालिका नपा, वडा नं. ६ अन्जना पुडासैनी केसीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

उजुरीका आधारमा अनुसन्धान गर्दै जाँदा पसल सञ्चालकमाथि नै शङ्का लागेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको चितवनका प्रहरी प्रमुख भावेश रिमालले जानकारी दिए ।

चितवनका प्रहरी प्रमुख भावेश रिमालले बीमा रकम प्राप्त गर्नका लागि घिमिरेले योजनाबद्ध रुपमा पसलमा चोरी भयो भनी भ्रम छरेको पाइएको बताउँदै चोरी भएको भनिएको सामग्री सुनारकै स्थानिय मिल्ने साथी अन्जना पुडासैनी केसीको घरबाट बरामद गरेको जानकारी दिए । पक्राउ परेका सबैलाई थप अनुसन्धान गर्ने र कानूनबमोजिम कारवाहीको तयारी सुरु भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार विनोद सुन चाँदी पसलका संचालक विनोद सुनार स्वयंले झूटा चोरी तथा लुटपाट गर्ने योजना बनाई बीमा रकम ठगी तथा विभिन्न व्यक्तिहरुबाट लिएको ऋण रकम चोरी भएको देखाई जालसाजी गरी फाईदा लिने मनसायले लुटपाट गर्न लगाएको अनुसन्धानबाट खुलेको छ ।

विनोद सुनारले लुटपाटको लागि पूर्ण बहादुर विश्वकर्मालाई जिम्मा दिएको र पूर्ण बहादुर विश्वकर्मा र पवन कुमार पासवानले रातिको समयमा मोटर साईकलमा आई लुटपाट गरेको र पसलका मेनेजर विजय विश्वकर्माले चोरी गर्न आउनेलाई सहयोग गरेको पुष्टी भएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।