सुदूरपश्चिम सरकारबाट बाहिरियो एमाले, समर्थन पनि फिर्ता

सुदूरपश्चिम सरकारबाट बाहिरियो एमाले, समर्थन पनि फिर्ता



धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारबाट पनि बाहिरिएको छ ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै बिहीबार प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीको अनुपस्थितमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र उनको सचिवालयमा बुझाएका हुन् ।

रावलसँगै एमालेको तर्फबाट सरकारमा सहभागी तीन जना मन्त्रीले समेत राजीनामा बुझाएका छन् ।

आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला मन्त्री हिरा सार्की र वन, वातावरण तथा सहकारी मन्त्री वीरबहादुर थापाले राजीनामा बुझाएका छन् ।

सुदूरपश्चिममा एमाले समेतको समर्थनमा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी गत वैशाख ६ गते मुख्यमन्त्री बनेका थिए । एमालेले समर्थन फिर्ता लिएपछि सोडारी नेतृत्वको सरकार दुई महिनामै संकटमा परेको छ ।

सोडारीलाई एमालेका १०, माओवादी केन्द्रका १०, नेकपा (एकीकृत समाजवादी) चार, नागरिक उन्मुक्तिका सातमध्ये दुई र स्वतन्त्र एकसहित २७ जनाको समर्थन थियो । तर एमालेका १० जना सांसदको समर्थन फिर्ता भएपछि सोडारीको सत्ता ढल्ने निश्चित भएको छ ।